Loading... आजः आइतबार , बैशाख १४, २०८२

टीकापुर नगरपालिकाले दियो मृतकका परिवारलाई किरिया खर्च


दुर्गा देवकोटा/

कैलालीको टीकापुर नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु. १० हजार किरिया खर्च उपलब्ध गराएको छ । नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन रु १० हजार किरिया खर्च उपलब्ध गराउन थालेको हो ।  


    टीकापुर नगरपालिकामा कोरोना महामारीको दोस्रो भेरियन्टपछि ३० जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन किरिया खर्च दिने निर्णय भएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । ‘‘अधिकाँश मृतकका परिवार पनि संक्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकतातिर परिवार नै संक्रमित, अर्कोतर्फ सामाजिक समस्या पनि छन्’’, नगर प्रमुख रावलले भन्नुभयो, ‘‘यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गर्न थालेको हाँैँ, उहाँहरुको घरदैलोमा पुग्न थालेका छौँ । ’’

Insert your Ads code here

tikapur
मृतकका परिवारलाई किरियाखर्च लिएर नगर प्रमुख रावल, उपप्रमुख केशरी रावल विष्ट, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद अर्याल, वडाध्यक्ष गंगाराम आचार्य लगायतका जानुभएको छ । 
    नगरपालिकाले संक्रमणका कारण मृत्यु भएका, मृत्युपछि संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या, मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्श समेत दिन थालेको छ । ‘‘हामीले सामान्य समस्या भएकालाई परामर्श दिन्छौँ, जटिल समस्या भएकालाई चिकित्सकको सहयोग लिएर पनि उहाँहरुको स्वास्थ्य समस्या थप नबिग्रियोस् भनी काम गर्न थालेका छौँ’’, टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले भन्नुभयो, ‘‘यस्तो विपत्तीमा सबैभन्दा पहिले नागरिकको आत्मविश्वास बढाउने, सहयोगी छन्, सरकार छ भन्ने आभाष दिलाउने कार्य भइरहेको छ ।’’

    नगरपालिकाले संक्रमित परिवारलाई अन्य स्वास्थ्य समस्या नहोस् भनी घरदैलो कार्यक्रम समेत थालेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधी सहित संक्रमितका घरमा पुग्ने गरेका छन् । नगरपालिकामा रहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउन स्वास्थकर्मीहरु घरमै पुग्न थालेका हुन् । संक्रमित परिवारलाई घरमै गएर परामर्श दिने, संक्रमितसँग सम्पर्कमा रहेकाहरुलाई परीक्षणमा ल्याउने काम स्वास्थ्यकर्मीले गर्न थालेका हुन् । 

    नगरपालिकाले संक्रमितको विगत १४ दिनको दैनिक सोधपुछ गर्ने गरेको छ । स्वास्थ्यकर्मीको साथमा जनप्रतिनिधि समेत जान थालेका छन् । ‘‘मास्क, सेनिटाइजर, ज्वरो नाप्ने थर्ममिटर, फ्लोर क्लिनिर, पानी सुद्धीकरण गर्ने पियुस, सावुन, ज्वरोको औषधी दिने गरेका छौँ’’, जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक रावलले भन्नुभयो, ‘‘ सिआइसीटी नाम दिइएको यो कार्यक्रम अन्र्तगत संक्रमित परिवारको हालको अवस्था र परिवारको अवस्थाबारे बुझ्ने काम हुन्छ ।’’
    संयोजक रावलकाअनुसार संक्रमित र उनीहरुका परिवारको स्वास्थ्य अवस्था बुझ्न विभिन्न मापदण्ड रहेको फारम भर्ने काम समेत भइरहेको छ । जसका लागि नगरपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली परिचालन गरेको हो । रावलले समुदायमा संक्रमण फैलिएको भए पनि दुरी कायम गरेर स्वास्थ्यकर्मीलाई सेवामा खटाएको बताउनुभयो । ‘‘हामीले स्वास्थ्य सेवा सबै सुचारु राखेका छौँ, गाउँघर क्लिनिक, खोप क्लिनिक, परिवार नियोजन सेवा, आमा सुरक्षाका सबै कार्यक्रम सुचारु राखेका छौँ’’, उहाँले भन्नुभयो । 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!