तातोपानी नाकाबाट चीनबाट मेडिकल सामाग्री नेपाल पठाउन सुरू
सरकारले लकडाउन अवधिभर अत्यावश्यक सामाग्री उत्तरका नाका तातोपानी र सरुवागढीबाट ल्याउने निर्णय गरेको थियो। निर्णयपछि दुबै नाकाबाट एक पटक थोरै मात्रामा मेडिकल सामाग्री भित्रिएपनि कसरी ल्याउने भन्ने मोडालिटी तय नहुँदा नियमित आयात हुन सेकेको थिएन। दुबै मुलुकका सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षाअधिकारीबीच मंगलबार तातोपानी नाकामा भएको बैठकले मोडालिटी तय गरेपछि नाकाबाट नियमित सामान आउने बातावरण बनेको प्रमुख खत्रीले बताउनुभयो। नाकाबाट बिहीबार मात्र ३४ कार्टुन मेडिकल सामान राजधानी भित्रिएका थिए। सिडिजाइन नामक व्यापारिक फर्मले बुधबार ती सामान नाकामा ल्याइपुर्याएको थियो। १४ घण्टा आइसोलसनमा राखेर सामाग्री राजधानी पठाइएको हो।
‘अब अत्यावश्यक मेडिकल र खाद्य सामाग्री नियमित आउँछन्,’ खत्रीले भन्नुभयो। उहाँका अनुसार नाकामा खाद्य सामाग्री भने आइसकेका छैनन्। अन्य व्यापारिक सामान भने तत्काल आयात नहुने भन्सारले जनाएको छ। अधिकारहरुको बैठकले तय गरेको सामाग्री आयात मोडालिटीअनुसार नेपाली व्यवसायी व्यापारिक फर्मको अर्डरपछि चिनियाँ पक्षले सीमासम्म सामान ल्याइदिने छ। मितेरी पुल क्षेत्रसम्म आइपुग्ने सामाग्री लिन सम्वन्धित व्यवसायी त्यहाँसम्म पुग्नुपर्ने छ। बढीमा २० जनासम्म नेपाली चालक र भरियालाई मात्र पुलसम्म पुग्न चीनले अनुमति दिएको भन्सार प्रमुख खत्रीले बताउनुभयो।
मितेरी पुल नजिकै चालक र भरियाको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ चिकित्सक र आवश्यक उपकरणसहित हेल्थ डेस्क सञ्चालनमा छ। सामाग्री सुख्खा बन्दरगाह पुर्याइएपछि १२–१४ घण्टासम्म आइसोलेसनमा राखेर मेडिकल परीक्षण पूरा गरेपछि मात्र भन्सार प्रक्रिया थालिने छ। सामाग्री आयात गर्दा दुबैतर्फबाट मेडिकल प्रोटोकल पालना गर्नुपर्ने शर्त छ। २०७२ वैशाख १२ को भूकम्पको कारण चार वर्ष बन्द भएको तातोपानी नाका गत वर्षको जेठ १५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। चीनको बुहानबाट कोरोना संक्रमण फैलिएपछि माघ १६ गतेबाट पुनः नाका बन्द गरिएको थियो।
यसैबीच नागरिकन्यूज डटकमका अनुसार नाका सञ्चालनमा ल्याइएकोप्रति स्थानीय भने रुष्ट बनेका छन्। कोरोना भाइरस चीनबाट सुरु भएकाले नाका सञ्चालनमा ल्याउँदा संक्रमणको जोखिम बढ्ने भन्दै सीमावासीले विरोध जनाएका हुन्।