Loading... आजः शनिबार , श्रावण १२, २०८१

तातोपानी नाका पुनः सञ्‍चालनको एक वर्ष चीनबाट नेपालमा उत्साहजनक आयात


नेपाल-चीनबीचको मुख्य व्यापारिक नाका तातोपानी पुनः खुल्ला भएको प्रथम वार्षिकोत्सवमा तिब्बतले वार्षिक आयात निर्यात सन्तोषजनक रहेको समीक्षा गरेको छ। नेपालमा २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले बन्द भएको ४ वर्षपछि तातोपानी नाका गत वर्ष मे २९ तारिखका दिन पुनः खुल्ला गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

एक वर्षको अवधिमा तातोपानी माल ढुवानी च्यानलबाट प्राप्त उपलब्धिलाई उत्साहका साथ मूल्यांकन गरिएको छ। वर्षगाँठको अवसरमा ल्हासास्थित न्यालम भन्सारका अधिकारीले आयात निर्यातको मात्रा चिनियाँ मुद्रा ५७३ मिलियन युआन पुगेको सार्वजनिक गरेका छन्।

भूकम्पका कारण बन्द भएको रणनीतिक महत्वको तातोपानी नाका खुलाउन नेपालले तत्कालीन उच्चस्तरीय भ्रमणका दौरानमा पनि निकै ताकेता गरेको थियो। अन्ततः माल ढुवानीका लागि मात्रै भनेर गत वर्ष जेठ १५ मा नाका खुला गरिँदा चीनबाट ४ वटा ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गरेका थिए। त्यसबीचमा तिब्बतबाट अधिक मालसामान नेपालतर्फ ढुवानी भएकाले तिब्बतका लागि फलिफापको नाका बनेको छ।

Insert your Ads code here

हाल कोरोना महामारीका कारण तातोपानी नाका पूर्ववत् सक्रिय नभए पनि गत मे ३१ सम्ममा १०० मिलियन युआन बराबरको कोरोना रोकथाम तथा नियन्त्रणका सामग्री नेपाल पठाएको तिब्बतको भनाइ छ। ल्हासा भन्सारले भनेको छ, ‘महामारीका कारण हवाई मार्ग बन्द भएकाले तिब्बतको तातोपानी नाका हुँदै हालसम्ममा ८.३ मिलियन पिस कोभिड-१९ रोकथामका सामग्री नेपाल निर्यात भएको छ।’

कोरोना भाइरसको फैलावट रोक्नका लागि तिब्बतले गत मार्चको २४ तारिखदेखि अन्तर्राष्ट्रिय उडानहरू ठप्प पारेको छ। हवाई उडान रोकिएपछि तिब्बतको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक गतिविधि स्थलमार्गबाट चलेको हो। तिब्बतसँग नेपालको केरूङ र तातोपानी नाकाबाट व्यापारिक कारोबार हुने गर्दछ। कोरोना महामारीका कारण ती नाकाहरूमा निर्वाध व्यापार हुन सकिरहेको छैन।

ल्हासास्थित भन्सार कार्यालयका तिब्बती अधिकारीहरूले तातोपानी नाकालाई महामारीका अवधिमा निकै महत्वका साथ ढुवानी च्यानलको रूपमा प्रयोग गरिएको बताए। उनीहरूले भने, ‘हप्तादिने र चौबीस घण्टे ग्रीन च्यानलका रूपमा तातोपानीलाई प्रयोगमा ल्याउन महामारी रोकथामका मापदण्ड लागू गरिएको छ।’

सामान लोड अनलोडका क्रममा ‘जिरो कन्ट्याक्ट’को अवधारणाका साथ दुवै तर्फबाट होसियारी अपनाइएको तिब्बती अधिकारीहरूको दाबी छ। चीनले निर्धारण गरेको मापदण्ड नुसारका सामग्री मात्रै निर्यात गर्ने कुरालाई तिब्बतले कडाइका साथ पालना गरिरहेको छ।

महामारीपछिका दिनहरूमा ल्हासाले तातोपानी नाकाको पुनः खुलापनलाई गति दिन सुपरीवेक्षण तह तथा सेवास्तरमा सुधार गर्ने बताएको छ। तिब्बतले नेपालसँगको आर्थिक तथा व्यापारिक विकासलाई प्रवर्द्धन गर्न यस नाकाको सुदृढीकरणमा गहिरो नजर पुर्‍याएको उनीहरूले बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!