कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको वेला छिमेकी मुलुक चीनसँग तातोपानी नाका सञ्चालनबारे नेपालका सरकारी अधिकारीले औपचारिक बैठक गर्ने तयारी गरेका छन् । नेपाल र चीन छुट्याउने लिपिङस्थित मितेरीपुको रातोरेखामा एक मिटर दूरी कायम गरेर बैठक बस्न लागेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। नाका सञ्चालन गर्नेबारे मंगलबार बैठक बस्न लागेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिनुभयो।
नेपालतर्फ जिल्ला प्रशासन, भन्सार, अध्यागमन, सुरक्षा निकाय र क्वारेन्टाइनका अधिकारी तथा चीनतर्फ न्यालम जिल्ला र जाङ्मु पोर्टका अधिकारी बैठकमा सहभागी हुन लागेको खत्रीले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र न्यालम जिल्लाका प्रतिनिधिको संयुक्त अध्यक्षतामा बैठक बस्न लागेको हो।
नेपाल सरकारले तातोपानी र रसुवा नाका खोल्ने निर्णय गरेको भए पनि चीन स्वशासित तिब्बतका सरकारी अधिकारीले नेपालतर्फ सीमाका जिल्लासँग थप छलफल गरेर नाका सञ्चालन गर्न चाहेकाले सिडिओ लेभलको नियमित बैठक बस्न लागेको हो।
भूकम्पपछि नाका खुलाउन निरन्तर चीनका अधिकारीसँग छलफल गरेका सभामुख अग्निप्रसाद सापकोटाकै पहलमा सीमासम्बन्धी थप बैठक हुन लागेको नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले बताउनुभयो।