Loading... आजः शनिबार , श्रावण १२, २०८१

तिब्बत स्वायत्त प्रदेशद्वारा नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान


चीनको स्वायत्त प्रदेश तिब्बत सरकारले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध लड्न आवश्यक मेडिकल सामग्री अनुदान सहयोग गरेको छ। नेपाल सरकारले मागेको सूची अनुसार छ प्रकारका सामग्री ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमार्फत हस्तान्तरण गरिएको अनलाइन खबरले लेखेको छ।

शुक्रबार आयोजित एक कार्यक्रममा तिब्बत सरकारको विदेश विभागकी प्रमुखले नेपाली महावाणिज्य दूत गोविन्द कार्कीमार्फत ती सामानहरु हस्तान्तरण गर्नु भएको दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले बताउनुभयो। ती सामग्री नेपालको सीमानाका तातोपानीसम्म तिब्बत सरकारले नै ढुवानी गर्नेछ।

तिब्बत सरकारले तातो नाकामा ल्याएर ती मेडिकल सामग्री जिम्मा लगाउने र काठमाडौं स्थित चिनियाँ दूतावासमार्फत नेपाल सरकारलाई हस्तान्तरण हुने राईले जानकारी दिनुभयो। तातोपानीसम्म मेडिकल सामग्रीहरु आइपुग्न एक साता लाग्न सक्ने उहाँले बताउनुभयो।

Insert your Ads code here

परराष्ट्र मन्त्रालयले पठाएको सूची महावाणिज्य दूतावासले तिब्बत सरकारलाई दिएको थियो। तिब्बत सरकारले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्क लगायत छ प्रकारका अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएपनि कति परिमाणमा छ भन्ने नखुलेको र ती सामग्री ढुवानी भएपछि मात्र जानकारी हुने राईले बताउनुभयो।

यसअघि चीनका विभिन्न निजी क्षेत्रले बेइजिङस्थित नेपाली दूतावासमार्फत पठाएका स्वास्थ्य सामग्री निर्यातयोग्य नरहेको भन्दै तिब्बत सरकारले रोकेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!