Loading... आजः शनिबार , चैत्र १, २०८१

तिमीलाई चोट पर्दा हामी साथमा छौं


यतिबेला कोरोना भाइरसको संक्रमणबाट चीन आक्रान्त छ। एक हजार बढीको ज्यान गइसकेको र हजारौं बिरामी परेको खबर आइरहेको बेला नेपालबाट सान्त्वना दिन खोजिएको छ।

चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ‘हामी साथमा छौं’ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा भूमीसुधारमन्त्री पद्मा अर्याल, नेपालका लागि चीनका राजदूत होउ यान्छी, नेकपाका नेताहरु आनन्द पोखरेल, यज्ञराज सुनुवारलगायत सहभागी थिए।

कार्यक्रम आयोजक ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरका अध्यक्ष डा. कल्याणराज शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भने, ‘उत्तरी छिमेकी मुलुक चीनसँग नेपालको सदियौं पुरानो आत्मीय सम्बन्ध छ। चीनको यो पीडामा हामी नेपालीहरु साथ र सहयोग गर्न तत्पर छौं भनेर सन्देश दिन खोजेका हौं।’

Insert your Ads code here

जब चिनियाँ राजदूत भावकु बनिन्

पाठशाला नेपालका विद्यार्थीहरुले नेपाली र चिनियाँ दुवै भाषामा गीत गाएर चीनको दुःखमा साथ दिन नेपालीहरु तयार रहेको बताउँदा दर्शकमात्र होइन, अतिथिहरु पनि भावुक बने।

हामीलाई दुःख हुँदा तिमीले काँध थाप्यौ
तिमीलाई चोट पर्दा हामी साथमा छौं।
एकै हिमालका हामी वारीपारी जुन विश्वको शिर सान हो
सुख साटने दुःख बाँड्ने सदियौंदेखि यो चलन हो।

टंक आचार्यका शव्द र श्री केसीले संगीत भरेको यो गीतले दर्शकदीर्घालाई मात्र होइन, कार्यक्रममा सहभागी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई पनि भावुक बनायो।

मन्तव्यलाई बीचमै रोक्दै उनी पोडियम छोडेर मञ्चको बीच भागमा उभिइरहिन् धेरै बेर दुई हात जोडेर। केहीबेर सम्हालिएपछि पुनः पोडियममा आएर चिनियाँ भाषामा उनले आफ्नो मन्तव्य राखिन्। मन्त्वयको क्रममा उनले कोरोना भाइरसबाट लड्न चीनले गरिरहेको प्रयासबारे चर्चा गर्दै यो लडाइँमा नेपालले गरेको सहयोगको सह्राना गरिन्।

नेपाल र चीन सुख, दुःखका साथी हुन्। नेपाल भूकम्पको पीडामा परेको बेला परेको बेला चीनले उद्धार तथा पुनःस्थापनामा सहयोग गरेर मल्हम लगाएको छ। ऐतिहासिक बसन्तपुर दरबार, दरबार हाइस्कुल लगायतका थुप्रै भौतिक संरचनाहरु पुनर्निर्माण गरिदिएर गुन लगाएको छ।

चिनियाँ ह्याकरहरु नेपालमा बसेर बैंकमा लुट मच्चाएको बेला चीनकै सहयोगमा नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर होस् वा कोरोना भाइरसबाट पीडामा परेको बेला एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेर होस् नेपालले पनि चीनलाई सहयोग गरेकै छ। विश्व महारथी चीनले गरेको सहयोगको तुलनामा नेपालको सहयोग सानै होला, तर यो सहयोगले चीन दुःखमा परेको बेला नेपालले आँसु पुछेर भए पनि सहयोग गर्छ भन्ने सन्देश प्रवाह गरेको छ।

त्यसैले त कार्यक्रममा बलराम दाहालले कबितामार्फत् अरनिको, अंशुबर्मा, मञ्जुश्रीलगायतले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको चर्चा मात्र गरेनन् दुःखमा परेकाको आँसु पुछ्नु नै नेपालीको मुख्य धर्म भएको बताए। दाहालले कवितामार्फत् भने–

भोटको नुन चाखेर, ल्हासाको सुन भित्रियो
नुनको सुनको भन्दा, सम्बन्ध गुनको थियो।
चीनलाई कुनै चोट, लाग्दा नेपाल दुख्दछ,
नेपाल दुःखमा डुब्दा, चीनले आँसु पुछ्दछ।
चल्दा त्यो मनमा आँधी, पोल्छ नेपालको मन
यही नै धर्म हो हाम्रो, यही नै मनुष्य जीवन।

कार्यक्रमको सुरुमा नेपाल र चीन दुवै देशका राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रम सकिएपछि भने राष्ट्रियसभा गृह परिसरमा ‘हामी साथमा छौं’ लेखिएको आकृतिमा मैनबत्ती बालेर कोरोना भाइरसबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो अनलाइन खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!