प्रेस काउन्सिल नेपालले आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर समाचार प्रकाशन गर्ने नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३वटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रशारण गर्न नसक्नेगरी बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको बुझिएको छ।
कार्वाहीका लागि सिफारिस गरिएका ती ३ वटा अनलाइन सञ्चारमाध्यमलाई विवादास्पद र आपत्तिजनक सामाग्री हटाउन तथा २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ। हालसम्म कोरोना भाइरसका विषयमा अतिरञ्जित सामग्री सम्प्रेषण गरेका तर दर्ता/सूचीकरण भइनसकेका कूल ११वटा साइटलाई नेपालभित्र खुल्न नसक्ने बनाइएको छ र २६ वटा सञ्चारमाध्यमलाई जिम्मेवारीपूर्ण जवाफ मागिएको छ। प्रेस काउन्सिल नेपालले सबैखाले आमसञ्चार माध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीसहित सूचना सम्प्रेषणमा जुट्न र नागरिकहरुलाई तथ्यरक, उत्साहवर्द्धक सामग्री पस्किन अनुरोध गर्दै अाएकाे छ।