गान्तोक, 8 सितम्बर। मुख्यमन्त्री पीएस तामाङले आज स्वास्थ्य विभागका अधिकारीहरूसित सिक्किममा क्यान्सर संस्थान निर्माणको निम्ति अघि आएको जीसी समूहको कम्पनीका अध्यक्षसित भिडियो कन्फरेन्स गरेर दक्षिण सिक्किमको कर्फेकटारमा क्यान्सर संस्थान गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्री तामाङले यसको बारेमा जानकारी दिँदै आफ्नो फेसबुक हेण्डलमा राज्यमा क्यान्सर संस्थान स्थापना बारे अवगत गराएका छन्। उनले राज्य सरकार को तर्फबाट कम्पनीलाई प्रस्तावित स्थलमा जमीन र बुनियादी सुविधाहरूसहित विद्युत, पानी उपलब्ध गराउने बताएका छन्।
कम्पनीले क्यान्सर अस्पताल निर्माणको निम्ति एक हजार पाँच सय करोड रूपियाँको निवेश गर्नेछ जुन भारतमै कम्पनीद्वारा वित्त पोषित गरेर निर्माण हुन लागेको ठूलो परियोजना हुनेछ। मुख्यमन्त्रीले बताए अऩुसार कम्पनीले राज्य सरकारलाई 5 सय पलङयुक्त क्यान्सर अस्पतालको प्रस्ताव दिएको छ जुन विश्वस्तरको 10 विङ सुपर-स्पेशियलिटी विभागसित सुसज्जित हुनेछ। जसमा कार्यालय स्थान, आवास र अन्य सुविधा पनि समावेश हुनेछ।
मुख्यमन्त्री तामाङले बताए अनुसार कम्पनीले पहिलेबाटै प्रस्थावित कर्फेकटारको जमीनको निरिक्षण गरिसकेको छ अनि प्राथमिक व्यावहार्यता अध्ययन पनि पुरा गरिसकेको छ। यो विशेष अस्पताल निर्माणले पूर्वोत्तर राज्यहरू, पश्चिम बङ्गाल अनि छिमेकी मुलुक नेपाल र भोटाङलाई पनि सेवा र लाभ पुग्ने छ। जसले राज्यमा अन्तरराष्ट्रीय चिकित्सा पर्यटन बढ्ने पनि मुख्यमन्त्रीले बताएका छन्।
प्रस्तावित परियोजनालाई अघि बढाउन विकासकर्तालाई चाँडो भन्दा चाँडो सिक्किम आउनको निम्ति आमन्त्रीत गरिएको छ। सिक्किममा लामो समयदेखि क्यान्सर उपचार केन्द्रको माग उठिरहेको छ। जसबारे विभिन्न योजना र चर्चा चुलिने गरेको तथा राजनैतिक मुद्दाकै रूपमा स्थापित बनिसकेको विषय अहिले आएर निदान छेकमा पुगेको पाइएको छ। राज्य सरकारद्वारा गरिएको निर्णयलाई सराहनीय निर्णय पनि मानिएको छ।