दक्षिण सिक्किमको बहुप्रतिक्षित भाले ढुङ्गा घिर्लिङ परियोजनाले अक्टोबर महिनादेखि आममानिसको निम्ति सेवा दिने
गान्तोक, 10 जनवरी। समुद्री तहदेखि 10 हजार 300 फीटको उच्चाईमा रहेको दक्षिण सिक्किमको भालेढुङ्गा रोप वे (घिर्लिङ)-को निर्माण कार्य आगामी अक्टोबर महिनासम्ममा पूरा हुने लक्ष्यको साथ युद्धस्तरमा अघि बढिरहेको छ।
तीन किलोमिटर भन्दा अधिकको लम्बाई रहेको यो घिर्लिङ निर्माण कार्यमा फ्रान्सको नामी कम्पनी पोमाको सामाग्रीहरू प्रयोग गरिँदैछ भने भारतको नामी कम्पनी आरएलपी-ले यस परियोजनाको गुणस्तरिताको रेखदेख गरिरहेको छ। 10 नोभेम्बर 2014-को दिन पूर्व मुख्यमन्त्री पवन चामलिङले शिलान्यास गरेको यो परियोजनाको निर्माण कार्य अहिले 80 प्रतिशत पूरा भइसकेको छ। रोनमास इण्डिया प्राइवेट लिमिटेडका साइड इञ्चार्ज राजीव कुमार यस रोप वे-को बारेमा जानकारी दिँदै भन्छन्, मैले विगत 23 वर्षको अनुभवलाई लगाएर काम गरिरहेको छु। यहाँको रोप वे निर्माणमा देखा परेका समस्याहरू र यसको निर्माणमा ढिलाइ भएको भने पानी, बिजुली अनि मौसमको हो।
चीसो मौसम भएको कारण भालेढुङ्गामा हिउँ झरेर काम गर्न धेरै मुस्किल परिरहेको छ। पानी उमालेर हिउँ पन्साएर काम गर्नुपर्ने स्थिति छ। 9 देखि 10 महिनासम्म यहाँ पानी परिरहन्छ, बिजुलीको साटो डिजल जेनेरेटरले काम गरिरहेका छौं। बिजुली पुऱ्याउन अझ 7-8 महिनाको समय लाग्छ। अहिलेसम्म पानी याङगाङमा रहेको धप्परबाटै लाने गरिएको छ। हामीले जतिसक्दो दिनहुँ काम गर्दैछौं। कुनैदिन काम रोकिएको छैन। काम गर्ने सबै स्थानीय भएको कारण उनीहरूले पनि एकै दिन छुट्टी लिएका छनैनन्। अहिले भालेढुङ्गामा माइनस डिग्री रहेको कारण धेर काम हुनसकेको छैन तर पनि काम रोकिएको भने छैन। उनको भनाइ अनुसार अहिलेसम्ममा सिविल वर्क भने धेरै प्रतिशत पूरा भएको छ।
अहिले रोप वे-निर्माण सामाग्री ओसार्नको निम्ति धप्परदेखि 200 केजीको भार बोक्नसक्ने एउटा सामाग्री घिर्लिङ चलिरहेको छ भने अबको 7-8 महिनामा 5टनको भार बोक्नसक्ने अर्को सामाग्री रोप वे पनि चल्ने सम्भावना रहेको उनको भनाइ छ। शुरुवाती स्टेशन धप्परदेखि भालेढुङ्गा स्टेशनसम्म 3024- मिटर लम्बाई रहने यस रोप वेलाई थाम्नको निम्ति कूल 22-वटा टावरहरू लाग्नेछन्। 22वटा टावरमा सबैभन्दा होचो टावर जो धप्परमा रहनेछ त्यसको उँचाई 5.92 मिटर रहेको छ भने सबैभन्दा अग्लो टावर 45.5 मिटर रहेको छ जो लेटिस टावर (बिजूलीको ठूलो पोसको आकारमा रहेको हुन्छ) रहेको छ। 17-वटा ट्यूबलर टावरलाई लगाइने यस रोप वेबाट धप्परदेखि भालेढुङ्गा पुग्न कम्तिमा पनि 16 मिनट लाग्नेछ। उनको भनाइ अनुसार 18वटा पेसेञ्जर केविन रहेको यस रोपवेले एक पल्टमा 144 जना पेसेञ्जर बोक्नेछ भने एउटा क्याविनमा 8 जना रहनेछन्। उनले यी क्याविनहरू आधुनिक तक्निकीले जडित अनि सबै अटोमेटिक हुने पनि बताए। उनले परियोजनाको ढिलाईको कारण यहाँको प्राकृतिक परिवर्तन रहेको पनि जानकारी दिए।
यसरी नै स्थानीय साइड इञ्चार्ज नरेश गुरुङले पनि शिविल वर्कभने अब सकिन लागेको तर इञ्जिनियरिङ कामभने धेरै बाँकी रहेको जानकारी दिएका छन्। उनले धप्परको स्टेशन भने निर्माण भइसकेको अब भालेढुङ्गाको अन्तिमको स्टेशन निर्मण कार्य भने आरम्भ भइसकेको पनि बताए। उनले पहाड खन्न धेरै समय लाग्ने भएको कारण पनि काममा धेरै ढिलाई हुनेगरेको जानकारी दिए। उनी भन्छन्, पेसेञ्जर रोप वे निर्माणको निम्ति अक्टोबर सम्मको समयलाई लक्षित गरिएको छ। अब 5 नम्बर नि 15 नम्बरको टावर लगाउनु र भालेढुङ्गाको स्टेशन पूरा गर्नुपर्ने काम बाँकि रहेको छ। धप्परको स्टेशन भने निर्माण भइसकेको छ। एउटा टावर इरेक्सन गर्नको निम्ति कम्तिमा एक हप्ताको समय लाग्छ। टावर इरेक्सन गर्नको निम्ति पूमाको टोम बस्नेछ।
उनी यो परियोजना आरम्भ हुन जमीन नाप्ने समय देखि काम गर्दै आएको अनि यसले धेरै अनुभव बटुल्न सक्षम भएको पनि बताउँछन्। यस परियोजनाको निर्माणमा 90 प्रतिशत स्थानीय युवाहरूले काम गरिरहेको र उनीहरूले यसबाट धेरै काम सिक्ने र सिकिरहेको पनि उनको भनाइ छ। (जगन दाहाल)