Loading... आजः शनिबार , श्रावण १२, २०८१

दुर्गा सप्तशती: दुर्गा कवच कथा


[सरल नेपाली भाषामा]

चण्डीकालाई नमस्कार छ । मार्कण्डेय भन्नुहुन्छ  “हे पितामह  ब्रह्माजी ! यस संसारमा सम्पुर्ण मानवहरुको रक्षा गर्ने पहिले कसैलाई पनि नबताईएको कुन तत्व छ मलाई कृपा गरेर बताईदिनुहवस ।” ब्रह्मा  जी आज्ञा गर्नुहुन्छ  –  हे ब्राह्मण ! अत्यन्तै गोप्य र पवित्र भनिएको यो देवीको कवच हो । यसले सम्पुर्ण प्राणीको उपकार पनि गर्दछ । विश्वमा नवदुर्गा भन्ने प्रसिद्ध पाउने देवीहरुमा पहिली शैलपुत्री, दोस्री ब्रह्मचारिणी, तेस्री चन्द्रघण्टा, चौथी  कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैटौ कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी नबौं सिध्दिदात्री हुन्  । यी नामहरु  प्रजापिता  ब्रम्हाले राख्नु भएको हो ।

डढेलोमा परेर आगोले पोल्न लाग्दा, समरभुमी बिच शत्रुले घेरिदा शंकट एवं आपद बिपद  पर्दा र डरले आकुलव्याकुल भएका बखत देवीको शरण परेपछि सुरक्षित होईन्छ । जुन व्यक्ति यो दुर्गाको कवच पाठ गर्दै देवी भवानीको शरणमा पर्दछ, युद्धवाट आईपर्ने समस्त संकटहरु र पिर पीडा डर आदिका खतराहरु स्वत: टरेर जान्छन ।

Insert your Ads code here

मनमा भक्तिभाव राख्दै देवताहरुका पनि आराध्ददेवी भवानीको जसले स्मरण गर्दछ  भगवतीले उसलाई सुरक्षित तुल्याउनु हुन्छ ।   देवी चामुण्डाको बाहन प्रेत हो, बाराहीको भैंसी, इन्द्रायणीको ऎरावत हात्ती र बैष्णवीको गरुड बाहनहरु हुन । माहेश्वरीले साँढे कुमारीले मयुर चढने गर्छन । हातले कमल समाउने हरिप्रिया  लक्ष्मी कमलमा नै बसेकी छन । गोरी वर्ण भएकी पार्वती साँढेमा (बृषभमा) बसेकी छन भने सम्पुर्ण गर गहनाहरु पहिरिएकी ब्रम्हाणी हाँसमाथी सवार छिन ।

यी सबै देवी माताहरु अनेकौं शस्त्रहरु लिएका र गहनाहरु पहिरिएर राम्रा भएका छन । सबै देवीहरुले शंख, चक्र, गदा, शक्ति, हलो र मुसल समाएका छन । उनीहरुको अनुहार पनि रिसले चुर भएको छ । सबै देवी माताहरु रथमा सवार छन । देवीहरुले खेटक (फलेक) बञ्चरो, टुप्पो तीखो भएको तोमर, भाला (कुन्त), त्रिशुल र साङ्ग्रधनु आदि असल हतियारहरु बोकेका छन ।

दैत्यहरुको देहनाश  गर्न वा उनीहरुलाई मार्न आफ्ना भक्तजनहरुलाई निर्भय तुल्याउँन देवताहरुको हित गर्न यी देवी माताहरुले हात हतियार समाएका हुन । हे देवी ! तपाईं रौद्ररुप धारण गर्नु हुन्छ । ज्यादै पराक्रमी पनि हुनुहुन्छ । ठूलो उत्साह र बलद्वारा सम्पन्न हुनुभएको छ । भयको नाश पनि गर्नु हुने हजुरलाई नमस्कार छ ।

हेर्दा खेरी डरलाग्दो रुप भएकी शत्रुलाई तर्साउने देवी भगवती हुनुहुन्छ । पुर्व पट्टीको दिशामा इन्द्राणी देवीले र आग्नेय दिशा तर्फ अग्नि देवताले रक्षा गरून् । बाराहीले दक्षिणतर्फ, खड्गधारिणीले नैॠर्त्य तर्फ, पश्चिममा बारुणीले बायव्यमा सिंहवाहिनीले रक्षा गरून् । उत्तर दिशा तर्फ कौवेरी र इशानमा शुलधारिणीले रक्षा गरून् । माथी पट्टि  (उर्ध्व दिशामा) वैष्णवीले रक्षा गरून्  ।

शव मुर्दा बाहन भएकी चमुण्डाले दशैं दिशा भरी रक्षा गरिरहुन  ।  जयाले  अगाडि पट्टि र  बिजयाले पछाडी पट्टि रक्षा गरून । शरिरको दायाँ भाग अजिताले, बायाँ भागको अपराजिताले शिखाको उधोतिनीले अनि मस्तक (टाउको) को रक्षा उमादेवीले गरून् । मेरो निधारको मालाधरी नाम गरेकी देवीले र यशस्विनी देवीले मेरा आँखिभौंहरुको रक्षा गरून् । आँखिभौंको बीच भागमा त्रिनेत्रा र नाकका पोरालाई यमघण्टा नाम गरेकी देवीले रक्षा गरून् ।

शाकिनीले दुबै आँखाका मध्यभागमा तथा दुबै कानमा द्वारबासिनीले रक्षा गरून् । कालिका देवीले दुबै गालाको र शाकरी देवीले दुबै कानका जर्बुटाको रक्षा गरून् । दाँतहरुको रक्षा कौमारीले गरून् । घाँटी (कण्ठ प्रदेश) को चण्डिकाले रुद्रघण्टीको चित्रघण्टाले तथा तालु (माथिल्लो दाँतको फेदको प्रदेश-च्यापु) को महामाया देवीले रक्षा गरून् ।

चिउडोलाई कामाक्षिले  बोलीलाई सर्वमङगला देवीले रक्षा गरून् । भद्रकालीले घाँटीमा र पृष्ठबंश (मेरुदण्ड पिठिउँको मुल हाड) लाई धनुर्धरीले रक्षा गरून् । घाँटीको बाहिर पट्टि निलगृवा देवीले , कण्ठ नलिका (निल्ने ढोडे नशो) मा नलकुवरी देवीले बचाउ गरून् । खडगहस्ता (खड्गीनी) ले दुबै काँधको र दुबै बाहु (पाखुरा) को बज्रधारिणीले रक्षा गरून् । दुबै हात र औंलाहरु, नङ र कोखाहरुको क्रमशः दण्डिनी, अम्बिका, शुलेश्वरी र कुलेश्वरी देवीहरुले रक्षा गर्दै जाउन । कुचद्वय (दुबैस्तन) को रक्षा महादेवीले गरून् । ललितादेवीले छातिको शोक बिनाशिनीले मनको र शुलधारिणी देवीले पेटको रक्षा गरून् । कामीनी देवीले नाभि (नाईटो) भागको, गुह्य (गुप्तांग)को गुह्येश्वरी देवीले, पुतना र कामिकाले लिंग (मेढ्र) को तथा महिषबाहिनी देवीले गुदद्वारको बचावट गरुन ।

कम्मर भागको भगवतीले, घुँडाहरुको बिन्धवासिनीले रक्षा गरून् । मनले इच्छा गरेका सम्पुर्ण कुराहरु दिने भएकी महाबला देवीले जाँघको रक्षा गरून् । नारसिंही देवीले गोलीगाँठोको, गोडाको माथिल्लो भागको तैजसी र कुर्कुच्चाको श्रीदेवीले रक्षा गरिदिउन । अनि तलवासिनी देवी पैतलामा बाँस गरून । द्रष्टाकराली देवीले नङहरुको, उर्ध्वकेशिनीले केशहरुको (कपालको) रौं उम्रने प्वाल (रोम कुप) मा कौवेरी देवीले र बागेश्वरी देवीले छालाको रक्षा गरून् । रगत, मज्जा (मासी), बोसो, हाड, मेध (मासु) आदिको पार्वतीले र  आन्द्राको कालरात्रीले तथा पित्तको मुकुटेश्वरी देवीले रक्षा गरून् ।

मुलाधार आदि कमलकोशहरुमा पद्मावती देवीले कफमा चुडामणी देवी बसिकन रक्षा गरिदिउन । नङको तेजलाई ज्वालामुखी देवीले र कुनै शस्त्रास्त्रद्वारा पनि भेदन गर्न नसकिने भएकी अभेद्या देवीले शरिरका सबै मर्मसन्धि (जोर्नी) हरुमा रहेर रक्षा गरून् । हे ब्रम्हाणी देवी ! तपाईले मेरो शुक्र (वीर्य) को रक्षा गरिदिनुस । छत्रेश्वरीले छायाको र मेरा अहंकार, मन र बुद्धिको रक्षा धर्मधारिणीले गरिदिउन । बज्र हातमा लिएकी बज्रहस्ता नाम गरेकी देवीले मेरो प्राण (छातीमा रहने)  अपान (गुदद्वारमा रहने),व्यान (शरीर भरी रहने), उदान (घाँटीमा रहने) र समान (वायु) को रक्षा गरून् । रस, रुप, गन्ध, स्पर्श यी पाँच बिषयहरुको अनुभव गर्दाका बखत योगीनी देवीले र म आफू भित्र रहेका  सत्वगुण, रजोगुण, तमोगुणहरुको रक्षा कार्यका नारायणी देवीले गरून् ।

बाराहदेवकी शक्ति बाराहीले आयु बढाउन । धर्मको रक्षा बैष्णवी देवीले गरून् । चक्र हातमा लिएकी चकृणीले यश, कीर्ति, लक्ष्मी (ऎश्वर्य), धन र बिद्यासमेतको रक्षा गरून् । इन्द्राणी देवीले मेरो गोत्र (कुल) को, चण्डीका देवीले पशुधनको र महालक्ष्मीले छोरा छोरीहरुको एवं भैरवी देवीले मेरो पत्नीको रक्षा गरून् । मेरो गल्ली गोरेटो सुपथा देवीले र राजमार्ग क्षेमकरी देवीले रक्षा गरून् । महालक्ष्मीले मलाई राजदरबारमा रक्षा गरून् । सर्वव्यापिनी बिजया देवीले सम्पुर्ण भयहरुवाट मलाई जोगाउन । जुन अङ्ग प्रत्यङ्ग र अवयबहरुको बारे यश दुर्गा कवचले बताएको छैन ती सबैको हे बिजयशालिनी ! तथा पापनाशिनी देवी ! तपाईले नै रक्षा गरिदिनुहवस । यदि कुनै मानिसले आफ्नो शरिरको भलाइ चाहेको छ भने   कवच पहिरेर मात्र हिंडडुल गर्ने गरोस । बेगर कवचले एक पाईला पनि नहिडोस । यात्रा गर्दा पनि यस कवचको पाठ गर्ने नै गर्नुपर्दछ । जहाँ जहाँ मानिस कवचले ढाकिएर बस्छ त्यहाँ त्यहाँ उसलाई धन प्राप्ति हुन्छ । सम्पुर्ण कामनाहरुको सिध्दी गरिदिने जितबाजी हात लाग्छ । जसले जुन जुन अभिष्ट बस्तुको चिन्तन गर्दछ उसले ती ती कुरा अवश्यै पाउनेछ । त्यस मान्छेले यस पृथ्वीमा अतुलनीय ऎश्वर्यको भोग गर्न पाईरहनेछ । कवच लगाएको मान्छे निर्भीक एवं भयरहित हुन्छ । उसले लडाई अवश्य जित्दछ तथा उसलाई तिनै लोकभरी सम्मानसमेत गरिन्छ ।

देवताहरुले पनि प्राप्त गर्न गाह्रो पर्ने यो देवी कवचलाई सधैभरी बिहान, दिउँसो र साझमा श्रद्धा साथ पाठ गर्ने गरोस् । उसलाई दैवी गुणहरु प्राप्त हुनेछन् र  आफू त्रिलोक बिजयी  बन्न पाउनेछ  । (यसरी श्रद्धा पुर्वक नित्य बिहान, मध्याह्न र साझमा देवी कवचको पाठ गरिसकेपछि) मानिसमा देवी कला ( देवताहरुमा रहने गुणहरु) को प्राप्ति हुन्छ । तीनै लोक

(स्वर्ग मर्त्य पाताल) भरी उसले कसैसँग हार खानु पर्दैन । उसलाई अकाल मृत्यु (आगो-पानी-बिजुली-सर्प-जनावर  आदिवाट  हुने मृत्यु) आई पर्दैन सय बर्ष  भन्दा बढी बाँच्न पाउँछ ।

दादुरो, बिफर, लुतो,ठेउला, कुष्टरोग, खटिरा आदि   र तिनका सम्पुर्ण व्याधिहरु नाश  हुन्छन् । भाङ, धतुरो, अफिम, चरेस आदि स्थावर  बिषहरु तथा सर्प विच्छी आदिको टोकाइबाट पैदा  हुने जङ्गम बिषहरु एवं अफिम र तेल आदि रसायन पदार्थ मिसाएर बनाएको कृत्रिम बिषहरुको पनि कुनै असर पर्दैन । टुनामुना जादु जन्तर  मन्तर  आदिवाट हुन सक्ने अनिष्टहरु मान्छेको छातीमा झुण्ड्याईएको देवीको कवच देख्नासाथै असर हिन हुन गै बिनष्ट हुन्छन । यति मात्र होईन पृथ्वीभरी घुम्ने (भुचर ग्राम देवताहरु) आकाशमा डुल्ने आकाशदेवी, पानीवाट पैदा हुने नाग  र  उपदेशवाट मात्र खडा हुने निच देवताहरु , आफू जन्मदादेखी नै प्रकट भएका देवता, कुल देवता, माला (कण्ठमाला) डाईना (डाकिनी) बोक्सी (शाकिनी) आकाशमा परिभ्रमण गर्ने बलिया र डरलाग्दा किचकन्नी डुलुवा इत्यादि (डाकिनीहरु) ग्रह, भुत, पिशाच, यक्ष, गन्धर्व, राक्षस, ब्रम्हराक्षस, बेताल, कुष्माण्ड, भैरव आदि अनिष्टकारक देवताहरु पनि छातीमा राखेको कवच देख्नासाथ भागी हाल्छन । यो कवच धारण   गर्ने मानिसले राज्यवाट (सरकारवाट) सम्मान, पदवी, मान प्राप्त गर्दछ । मान्छेको तेज बढाउने उत्तम चीज  देवी कवच नै हो ।

पहिले यो देवी कवचको पाठ गर्नु पर्दछ । पाठ गरिसकेपछि दुर्गा सप्तशति  (चण्डी) को पाठ  गरोस । यसो गर्ने मान्छेले संसारमा सुनाम  फिजिनेछ र सुकीतिले बिभुषित  हुन पाउनेछ  । जवसम्म यश ब्रम्हाण्डमा पृथ्वी माताले  अचल  (पहाड) बन, कानन धारण  गर्लिन तब  सम्म देवी कवच   पाठ गर्ने व्यक्ति पनि पुत्र पौत्रादि सन्तानले  सुखी भै बाँचिरहनेछ । पहिले  देवी कवच अनि दुर्गा  सप्तशती (चण्डी) पाठ गर्ने मान्छेले आफ्नो मृत्यु पश्चात् पनि देवताहरुलाई समेत दुर्लभ मानिएको परम स्थानमा जान पाउनेछ । त्यहाँ उसले सुन्दर र आकर्षक शरीर धारण गरेर भगवान शिवजीका साथमा आनन्दको उपभोग गर्नेछ ।

दुर्गा कवच पूरा भयो ।

अर्गलास्तोत्रम

 

ॐ नमश्चण्डिकायै [चण्डिका देवीलाई नमस्कार छ ।

मार्कण्डेय उवाच : {मार्कण्डेय ॠषिले भन्नुभयो}

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धातृ स्वाहा स्वधा नमोस्तुते ।।१।।

 

सबैभन्दा महान भएकी जयन्ती देवी, भक्तजनका जन्ममरण इत्यादि संसारिक बन्धनहरुलाई हटाएर मङगलकारिणी मोक्षदात्री मंगलादेवी, प्रलयको बेला संसारको सम्पुर्ण सृष्टिलाई आफ्नो गाँस तुल्याउने महाकाली काली, भक्तहरूलाई सुख कल्याण दिने सुख दायिनी  भद्रकाली,हातले खप्पर समाउँदै नरमुण्डको माला लगाएकी कपालिनी देवी, योग, कर्म, उपासना जस्ता कठोर साधनवाट पाउन सकिने दुर्गा सम्पुर्ण जगतकी आमा हुनाले अति नै करुणामय स्वभाव लिंदा भक्तजन र अरुहरुका पनि अपराधहरुलाई क्षमा गर्ने क्षमा माता, सबैको भलो गर्ने शिवा, सारा संसारलाई धारण पालन-पोषण गर्ने धात्री, यज्ञ भाग लिएर देवतालाई परिपोषण गर्ने स्वाहा देवी, श्राध्द तर्पण आफुले लिएर सम्पुर्ण पितृहरुलाई तृप्त पार्ने स्वधादेवी  सबैको जय होस ।

हे चामुण्डा देवी ! तिम्रो जय होस । सम्पुर्ण प्राणीहरुको पीडा (संकष्ट) लाई नाश गर्ने भएकी हे देवी ! तिम्रो जय होस । सर्वत्र फैलिएर रहेकी हे देवी ! तिम्रो जय होस काललाई संहार गर्ने हे कालरात्री देवी !  तिमीलाई नमस्कार छ । मधु र कैटभ दुई  दैत्यलाई तिमीले मारेपछी निर्भीक भएका ब्रम्हाजीले तिमीवाट नै बरदान प्राप्त गरेका थिए, मधु कैटभ नाशिनी तिमीलाई नमस्कार छ । तपाईले मलाई रुप (आत्म स्वरुप ज्ञान) जय (मोह उपरको बिजय), यश (मोह बिजय र ज्ञान प्राप्ति रुप, यश) दिनुहोस् । काम, क्रोध, लोभ, मोह आदि शत्रुहरुलाई पनि नाश गरिदिनुस । महिषासुर मारेर भक्तहरुलाई सुख दिने हे देवी ! तिमीलाई प्रणाम छ । तिमीले मलाई रुप, जय, यश दिदैं काम, क्रोध आदि गरिएका सबै शत्रुहरुको नाश  पनि गरिदेउ ।

रक्तविज (दैत्यको) बध र  चण्ड र मुण्ड (दुवै दैत्य) लाई नाश गर्ने भएकी हे देवी ! तिमी रुप, जय, यश देऊ शत्रुहरुको संहार गर । शुम्भ, निशुम्भ, धुम्राक्ष (धुम्रलोचन) नाउँका दैत्यहरुलाई मर्दन गर्ने (निमोठ-नामोठ पार्ने) हे देवि ! तिमीले रुप, जय, कीर्ती देऊ, शत्रुहरुको पनि नाश गर । तपाईका दुवै पाउका बन्दना सबैले गर्ने गर्दछन । तपाईले पनि सबैलाई सौभाग्य (असल कुराहरू) दिने गर्नु भएको छ । हे देवी तिमीले रुप, जय, यश देउ र बैरीहरुलाई निर्मुल पार । अचिन्त्य रुप एवं अचिन्त्य चरीत्र भएकी हे शत्रु बिनाशिनी देवी तिमीले रुप, जय यश देउ र बैरीहरुलाई निर्मुल पार । हे पापलाई हटाईदिने चण्डिका देवि ! जसले भक्तिपुर्वक तिम्रो पाउमा मस्तक झुकाउँदछ उसलाई (भक्तलाई) रुप, जय, यश देउ र उनीहरूका शत्रुको नाश गर । हे चण्डिके ! यश संसारमा जस्ले भक्तिपुर्वक तिम्रो पुजा गर्दछ उसलाई तिमी रुप, जय, यश देउ र उनीहरुका शत्रुहरुको नाश गर ।  हे चण्डिके ! जसले भक्तिसाथ तिम्रो सधैं पुजा अर्चना  गर्दछ । उसलाई रुप द्यौ जय द्यौं यश द्यौं र उसका शत्रुहरुको बिनाश गर ।

मलाई सौभाग्य देउ, आरोग्यता देउ,परम् सुख देउ । रुप, जय, यश देउ र सारा शत्रुहरुको बिनाश गर । हे देवी ! जसले मसित द्वेष (रिस राग) राख्दछन तिनको नाश गरेर मेरो बल वृद्धि गर । मलाई रुप, जय, यश देउ, दुश्मनहरुलाई मार । हे देवि मेरो कल्याण (भलो) गर । मलाई धेरै धन, दौलत ऎश्वर्य पनि देउ । रुप देउ, जय देउ, यश देउ, मेरा शत्रुहरुलाई नाश गर  । देवताहरु र दैत्यहरु सबैका शिरपेचमा जडिएका रत्नहरुले दुबै पाउ घोटिएको (सबैद्वारा शाष्टाङ्ग नमस्कार गरिएकी) हे अम्बिके ! मलाई रुप, जय, यश देउ, मेरा शत्रुहरुको संहार पनि गरिदेऊ  । हे देवी ! तपाईले आफ्ना भक्तहरूलाई बिद्वान, कीर्तिशाली एवं धनी बनाई दिनुस । त्यस्तै रुप, जय, यश दिनुहोस  अनि शत्रुहरुको नाश पनि गर्नु होस । ठुल्ठुला प्रचण्ड दैत्यहरुको घमण्डलाई चकनाचुर पारिदिने हे चण्डिके ! तिम्रो शरणमा पर्न आएको मलाई रुप, जय, यश दिएर मेरा शत्रुहरुलाई बिनाश पारिदेउ । चारवटा हात र चारवटा मुख भएका ब्रम्हाजीले स्तुति गरिएकी हे परमेश्वरी ! मलाई रुप,जय,यश दिएर मेरा शत्रुहरुको नाश गर्नुहवस्  ।

हे देवी ! अम्बिके ! (हे आमा) तपाई सधैं भगवान कृष्ण (श्री विष्णु) द्वारा भक्तिपुर्वक स्तुति गरिएको हुनुहुन्छ । तिमी मलाई रुप, जय, यश देऊ र मेरा शत्रुहरुको नाश गरिद्यौं । हिमालयकी छोरी पार्वतीका पति महादेवले समेत स्तुति र सम्मान गरिएकी, हे  परमेश्वरी ! मलाई रुप, जय कीर्ती देउ, मेरा बैरीहरुको पनि नाश गर । इन्द्राणिका पति देवराज इन्द्रवाट सद्भाव (राम्रो भक्ती भावना) संग पुजा गरिएकी हे परमेश्वरी ! तिमीले मलाई रुप, जय, कीर्तिहरु देउ साथै मेरा शत्रुहरुको संहार गरिदेउ । अत्यन्त उग्र र कडा हात भएका दैत्यहरुको शेखी झार्ने भएकी हे देवि ! तिमीले मलाई रुप, जय, कीर्ती देऊ मेरा शत्रुहरुको नाश पनि गर । हे देवि ! अम्बिके !  तिमी  निरन्तर लागि परेर भक्ति गर्ने आफ्ना भक्तहरुलाई आनन्द दिने गर्दछ्यौं । मलाई रुप देऊ, कीर्ती देऊ र मेरा शत्रुहरुलाई नाशिदेऊ ।

मेरो मन माफिक चल्ने  मनलाई आनन्दित गराउँने असल खान्दानी वा कुलीन राम्री पत्नी देऊ । जसले यो दुर्गम संसाररुपी महासागरवाट पार लगाउँन । जुन मान्छेले यो अगलास्तोत्रको पाठ गरेर सप्तशती (चण्डी) रुप महास्तोत्रको पाठ गर्दछ, उसले सप्तशतीका जप संख्याहरुवाट पाईने बरदानहरुका साथै संपति पनि पाउनेछ  ।

अथ कीलक स्तोत्रम

‘कीलक’ शब्दको अर्थ अभिष्ट सिध्दिमा आईपर्ने व्यवधानलाई  फुकाईदिनु हो । सामान्यतया यसलाई ‘श्राप’ भने पनि हुन्छ । गायत्री आदि अनेक प्रसिध्द मन्त्रहरुमा कुनै न कुनै ॠषि वा देवताको श्राप हुन्छ । साथै यो श्रापवाट कसरी उम्कन सकिन्छ भन्ने बारे पनि उल्लेख गरिएको छ ।  भगवतीको यो ‘किलक’ स्तुति पनि  श्रापोध्दारको बिषय हो । सप्तसती मन्त्रात्मक देवी महात्ममा पनि महादेवद्वारा स्थापित किलक छन । यी किलकहरुलाई नपन्छाएर गरिएको देवी महात्म्यको पाठ फलदायी हुँदैन । कुन क्षेत्रमा बढेर (गएर) कसरी उपयुक्त मानसिकता बनाउँने, कुन उपाय अवलम्बन गरेर चण्डी तत्वमा प्रवेश गर्दा अभिष्टसिध्दी हुन्छ । यिनै कुराको प्रतिपादन कीलक स्तोत्रद्वारा गरिएको छ ।

दुर्गा_सप्तशती

सप्तशती  सन्दर्भ : द्वैपायन शिष्य भगवान जैमिनीले व्यासवाट प्रायः सवै धर्महरुका स्वरुप बारे अवगत गरेपछी पनि बाँकी अन्य कतिपय धर्महरुका स्वरुप थाहा पाउने मनशायले मार्कण्य ॠषिलाई बताईदिन आग्रह गरे । परन्तु भगवानको आराधना  (पुजा) गर्नमा तल्लीन भैरहेका मार्कण्डे ॠषिले आफू बेफुर्सद भएको कारणले विन्ध्याचलमा रही रहेका चारवटा पन्छीहरु कहाँ आठौं मन्वन्तरका कथाहरु जैमिनी मुनिलाई राम्रोसंग बताईदिनु भन्ने खवर पठाए । ती चार वटै पन्छिहरुले पनि मार्कण्डेय ॠषि र भागुरिका वातचितमा सुनेका कथाहरु जैमिनीलाई सुनाईदिए । पंन्छीहरुले जैमिनीलाई सुनाएको कथा नै मेघा ॠषिले राजा सुरथ र समाधी नाम गरेको दैत्यलाई सुनाएका थिए जुन यस सप्तशतीमा बर्णित छ ।]

स्रोत : नेपालीमा चण्डी: दुर्गासप्तशती पुर्व रक्षा सचिव मदनप्रसाद  अर्यालको पुस्तकवाट साभार ।

 

✍️ अनुवाद तथा सम्पादन : बसन्तराज अधिकारी

सम्पादन मिति : २०७३/०६/२१ शुक्रवार

स्वनिवास : घोराही-१७ पनौरा, दाङ

पुनः परिमार्जन मिति : २०७७-०७-०१ शनिबार नवरात्र आरम्भ घटस्थापना शुभम् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!