Loading... आजः शनिबार , श्रावण १२, २०८१

दूधकोसीमा लगानी गर्न ५ दाता इच्छुक


६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न ५ वटा दातृ निकायले इच्छा देखाएका छन्। अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले दातृ निकायका प्रतिनिधिसँग गरेको भिडियो संवादमा यी निकायले आयोजनामा लगानीको इच्छा देखाएका कान्तिपुर अनलाइनले लेखेको छ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत् आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास बैंक (एडीबी), युरोपेली लगानी बैंक (ईआईबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंकका प्रतिनिधिसँग प्रारम्भिक बैठक गरेका हुन्।

छलफलमा महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले दूधकोसी तुलनात्मक रुपमा सस्तो एवं आकर्षक रहेकाले आयोजनामा लगानी गर्न दातृ निकायलाई आग्रह गर्नुभयो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको हालसम्मको अवस्था, लागत, लगानी ढाँचा, जलाशययुक्त आयोजनाको महत्वलगायतका विषयमा जानकारी गराउनु भएको थियो।

Insert your Ads code here

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार छलफलमा सहभागी दातृ निकायका प्रतिनिधिले आफूले गर्न सक्ने लगानीको सीमाबारे जानकारी गराएका थिए। एडीबीले ५५ करोड डलरसम्म, ईआईबीले ५० करोड डलर, एआईआईबीले ३० करोड डलर र एडीबीको निजी क्षेत्रमा लगानी गर्ने संयन्त्रमार्फत २० देखि ३० करोड डलरसम्म लगानी गर्न सकिने जानकारी उनीहरुले गराएको घिसिङले जानकारी दिए। ‘कोरियन एक्जिम बैकले हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनमध्ये कुनै एकमा सम्पूर्ण लगानी गर्न सकिने बताएको छ,’ उहाँले भन्नुभयो। सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत् दूधकोसीलाई प्राथमिकतामा राख्दै निर्माण थाल्ने घोषणा गरेको छ। यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपम अघि बढाउने सरकारको योजना छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो आयोजनाको पहिचान गर्दै उत्कृष्टको सूचीमा राखेको थियो।

आयोजनाको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्‍ने अनुमान गरिएको छ। सहवित्तीयकरण मार्फत् लगानी गर्ने बैंकको नेतृत्व एडीबीले गर्ने छ। एडीबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ।

आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ। यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र वर्षामा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने छ। उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने योजना छ।

आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ। जलाशययुक्त आयोजना भएता पनि विस्थापित हुने घरधुरी तुलनात्मक रुपमा कम छ। १ सय ६२ घरपरिवार मात्र पूर्ण रुपमा विस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ। यस्तै, एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा फर्ने छ। आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दूधकोसी नदीमा १७ मिलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने उल्लेख छ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!