Loading... आजः शनिबार , श्रावण १२, २०८१

दैलेखमा पेट्रोलियम अन्वेषणको ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने


दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ। कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ। वर्षात्मा जङ्गल वृद्धि हुने, बाटोमा घाँस उम्रने र खोलामा पानी बढी हुने भएकाले फिल्डको काम स्थगित गरिँदै आएको गोरखापत्र अनलाइनले लेखेको छ।

बन्दाबन्दी नभएको भए हालसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर चीनमा पनि र नेपालमा पनि बन्दाबन्दी भई हवाई सेवा सञ्चालन नभएका कारण ड्रिल औजार ल्याउन नसकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ। अहिलेसम्म ४.५ किलोमिटर गहिराइ गर्ने ड्रिल औजार ल्याइसक्ने विभागको योजना थियो।

विभागले गत आर्थिक वर्षको सबै काम सम्पन्न गरेको छ। गत आर्थिक वर्षमा गरिएको अध्ययनले ड्रिल गर्ने स्थानको पहिचान गर्नेछ। विभागका उपनिर्देशक सुधीर रजौरे भन्नुहुन्छ, गत वर्षको अध्ययनले ड्रिल गर्ने स्थानको पहिचान हुन्छ, अहिलेसम्म ड्रिलको सामान पनि आइसक्थ्यो लकडाउनले आएको छैन, गत आर्थिक वर्षका कामले पेट्रोलियम पदार्थ रहन जस्तो संरचना चाहिन्छ त्यो त्यहाँ छ भन्ने कुरा देखिएको हो, अब ड्रिल गर्ने प्रक्रियामा काम अघि बढाउने हो।

Insert your Ads code here

दैलेख सदरमुकामदेखि पाँच किलोमिटर पश्चिममा २० किलोमिटर क्षेत्रको तीनस्थानबाट अन्वेषणको काम हुँदै आएको छ। चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम सम्पन्न भएका छन्।

उपनिर्देशक रजौरेका अनुसार अब ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’ अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ पत्ता लगाउने काम गरिने छ। बन्दाबन्दी र वर्षात्को समय भएकाले हाल विभागले प्रतिवेदन लेखन र व्यवस्थापनको काम गरिरहेको रजौरेको भनाइ छ।

रजौरे भन्नुहुन्छ, हामीहरूको मुख्य काम फिल्डमा गएर गर्नुपर्ने हुन्छ, वर्षात्मा हाम्रो क्यालेन्डरमा फिल्डको काम राखिँदैन, प्रतिवेदन लेखन र अरू तयारीका काम हुन्छन्। सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमार्फत दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता लिइने जनाएको थियो। सोही अनुसार सरकारले प्राथमिकता दिएर बजेटको व्यवस्था गरेको विभागले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!