Loading... आजः शनिबार , श्रावण १२, २०८१

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि


दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ। विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको रातोपाटी अनलाइनले लेखेको छ।

परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सम्भावना यसअघि नै प्रबल थियो तर अहिले भइरहेको अध्ययन र अन्वेषणले सो सम्भावनालाई सुनिश्चितता प्रदान गरेको छ।”

अहिलेको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण (इभिडेन्सेज) र आधारहरू फेला परे पनि राष्ट्रिय हित र गोपनीयताका कारण त्यसलाई सार्वजनिक गर्न नमिल्ने उहाँले स्पष्ट पार्नुभयो। “अहिले भइरहेको अध्ययन परिणामले नेपालको क्षेत्रमा पेट्रोलियम पदार्थ छ भन्ने आधारलाई सुनिश्चितता प्रदान गरेको छ, पेट्रोलियम पदार्थ छ छैन भने द्विविधाको अन्त्य भएको छ,” उहाँले भन्नुभयो, “दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेकोमा अब कुनै शङ्का गर्ने ठाउँ रहेनन्, अबको खोज, अध्ययन र अनुसन्धान पेट्रोलियम पदार्थको परिमाण र क्षेत्रका लागि मात्र हो।” अहिलेसम्मको परिणामले यस क्षेत्रमा थप काम गर्न उत्साहित बनाएको उहाँले बताउनुभयो।

Insert your Ads code here

पेट्रोलियम पदार्थको क्षेत्र र परिमाणबारे थाहा पाउन ‘ड्रिलिङ’ गर्ने उपयुक्त ठाउँको खोजीका लागि अहिले ‘साइस्मिक सर्वे’ र ‘म्याग्नेटु टेल्रिक सर्वे’ भइरहेको बताउँदै उहाँले अहिलेसम्म ‘साइस्मिक सर्वे’को काम ७० प्रतिशत र ‘म्याग्नेटु टेल्रिक सर्वे’को काम शतप्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो। अबको तीन हप्तामा ‘साइस्मिक सर्वे’को काम पनि सम्पन्न हुने उहाँले बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!