गान्तोक, 07 मई । सिक्किम सरकारका खाद्य एवं नागरिक आपूर्ति विभाग मन्त्री अरूण उप्रेतीले अत्याधिक मूल्य लिने व्यापारीहरू विरूद्ध कठोर कार्यवाही गर्ने चेताउनी दिएका छन्। राजधानी गान्तोकको देवरालीमा आज एक संवाददाता सम्मेलन आयोजन गरेर मन्त्रीले यस्तो चेताउनी दिएका हुन्। मन्त्री शर्माले भने, ‘अहिले विभिन्न ठाउॅंहरूबाट कतिपय व्यापारीहरूले निर्धारित मूल्यभन्दा धेरै मूल्यमा सर-सामग्रीहरू विक्री गरिरहेको गुनासो आइरहेको छ। लगभग रू. 425 मा पाउने सिमेन्ट रू. 600 मा र रू. 50 मा पाउने सिगरेट रू. 100-120 मा विक्री गरिरहेका छन्।’ उनले वैश्विक महामारी कोविड-19 को चपेटमा सबै नै परेका छन् भन्दै व्यापारीहरूलाई मौकाको फाइदा नउठाइदिने अपील पनि गरे। यसैगरी, उनले यो संकटको समयमा सेवा भावना राखेर व्यापार गरिदिने पनि अपील गरे। यसै क्रममा मन्त्री शर्माले यदि कुनै व्यापारीले निर्धारित मूल्यभन्दा धेरै मूल्यमा लिएको थाहा पाए कड़ा कार्यवाही गर्ने चेताउनी दिए। उनले यस्ता व्यापारीहरूको लाइसेन्ससम्म रद्द गरिने बताए। एकपल्ट लाइसेन्स रद्द गरिएपछि फेरि माफी नपाउने पनि उनले चेताउनी दिए। उनले उपभोक्ताहरूलाई यदि कुनै व्यापारीले यसरी अत्याधिक मूल्य लिइरहेका छन् भने टोल फ्री नम्बर 1800-3453209 मा अथवा ल्याण्डलाइन नम्बर 03592-202675 मा सम्पर्क गरेर शिकायत गरिदिने अपील गरे। यस अतिरिक्त मन्त्री शर्माले व्यापारीहरूलाई सरकारद्वारा जारी दिशानिर्देश पनि पालन गरिदिन अपील गरे। दिशानिर्देशहरू पालन नगरेको खण्डमा पसलहरू सील गरिने उनले बताए।