Loading... आजः शनिबार , श्रावण १२, २०८१

नयाँ आर्थिक वर्षमा सडक, सुरूङमार्ग, रेलमार्ग र जलमार्गमा नेपालको प्राथमिकता


सरकारले आर्थिक वर्ष २०७७÷७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त सदनमा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्षभित्र काठमाडौँ-तराई द्रूतमार्गको निर्माण सम्पन्न गर्ने बताउनुभयो। राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–नौबीसे सडक खण्डमा निर्माणाधीन २.६८ किलोमिटर सुरुङमध्ये आर्थिक वर्ष २०७७/७८ मा एक किलोमिटरको निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो। आर्थिक वर्ष २०७७/७८ मा सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने छ भने बेत्रावती–स्याफ्रुबेँसी–टोखा–छहरे, गुर्जे भञ्जाङ, खुटिया दिपायललगायतका सुरुङमार्ग अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

मदन भण्डारी राजमार्गलाई पाँच वर्षभित्र सुरु गरिने बताउँदै उहाँले आगामी आर्थिक वर्षभित्र १५५ किलोमिटर सडक कालोपत्रे गर्नुका साथै झापा–धरान खण्डमा पुल तथा सडक निर्माण कार्य सुरु गरिने घोषणा गर्नुभयो। त्यसैगरी पूर्व–पश्चिम राजमार्गलाई द्रुतगतिको राजमार्गका रूपमा विकास गरिने बताउनुभयो । यस कार्यक्रमअन्तर्गतको नारायणघाट–बुटबल खण्ड र कमला–कञ्चनपुर खण्डको विस्तार कार्य अबको तीन वर्षभित्र सम्पन्न हुने बताउनुभयो।आगामी आर्थिक वर्षमा मध्यपहाडी (पुष्पलाल) लोकमार्गको ३०१ किलोमिटर, हुलाकी राजमार्गको २५० किलोमिटर र उत्तर–दक्षिण लोकमार्गअन्तर्गतको कालीगण्डकी करिडोरको ९० किलोमिटर सडक कालोपत्रे गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गोरखापत्र अनलाइनका अनुसार कोसी र कर्णाली करिडोर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी स्तरोन्नति थालिने छ । त्यसैगरी गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्तरोन्नति कार्य सुरु गरिने छ।

Insert your Ads code here

आर्थिक वर्ष २०७७÷७८ भित्रमा नै भारतको जयनगरदेखि नेपालको बिजुलपुरासम्म रेल सेवा सञ्चालन हुनेगरी काम भइरहेको तथा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी विस्तृत आयोजना प्रतिवेदन तयार भएको नीति तथा कार्यक्रममा जनाइएको छ।

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी–काठमाडौँ रेलमार्ग र वीरगञ्ज–काठमाडौँ रेलमार्गको प्रारम्भिक कार्य सुरु गरिने राष्ट्रपति भण्डारीले घोषणा गर्नुभयो। पूर्व–पश्चिम विद्युतीय रेलमार्गको पूर्वतयारी कार्य सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण सुरु गरिने छ। काठमाडौँ–पोखरा–लुम्बिनी, काठमाडौँ मेट्रो, भारतीय सिमानाबाट नेपालका महत्वपूर्ण औद्योगिक तथा व्यापारिक क्षेत्र जोड्ने तथा चीन र भारतबाट काठमाडौँ जोड्ने रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ।

यसैबीच नेपालको आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जानसक्ने गरी तयारी गरिएको बताउँदै राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७÷७८ देखि यस जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानुनी व्यवस्था गरिने घोषणा गर्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!