अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार नेपालमा १ हजार ५ सय ६७ शिशु जन्मिएको अनुमान छ। उक्त संख्या विश्वभरिमा बुधबार जन्मिएका बालबालिकाको ०.४ प्रतिशत हो। युनिसेफले विश्वभरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन ३ लाख ९२ हजार ७८ जना बालबालिका जन्मिएको अनुमान गरेको कान्तिपुर अनलाइनले लेखेको छ।
युनिसेफले बुधबार विश्वभरमा सबभन्दा बढी शिशु भारतमा (६७ हजार ३ सय ८५) जन्मिएको अनुमान गरेको छ। यसपछि चीनमा ४६ हजार २ सय ९९, नाइजेरियामा २६ हजार ३९, पाकिस्तानमा १६ हजार ७ सय ८७, इन्डोनेसियामा १३ हजार २० र अमेरिकामा १० हजार ४ सय ५२ जन्मिएको अनुमान छ।
सन् २०१८ मा विश्वभरि जन्मेका शिशुमध्ये २५ लाख पहिलो महिनामै र तीमध्ये करिब एक तिहाइ पहिलो दिन नै मरेका थिए। यस्ता शिशुमध्ये धेरैजसो समयअगावै जन्मेका, सुत्केरीको जटिलता, सेप्सिसजस्ता संक्रमणलगायत कारणले मरेको युनिसेफले जनाएको छ। यस्तै, बर्सेनि २५ लाखभन्दा बढी शिशु मृत जन्मन्छन्।
Insert your Ads code here
पछिल्ला तीन दशकमा विश्वभर नै बालबालिकाको बचाउमा महत्त्वपूर्ण प्रगति भएको युनिसेफले जनाएको छ। विश्वमा पाँचौं जन्म दिनभन्दा अघि मृत्युवरण गर्ने बालबालिकाको संख्या आधाभन्दा बढीले कम भएको छ। तर नवजात शिशुको मृत्युदर कम हुने गति सुस्त नै छ। सन् २०१८ मा जन्मेका पहिलो महिनामा मृत्युवरण गर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कुल संख्याको ४७ प्रतिशत थियो।
धेरै आमा र नवजात शिशुलाई तालिम प्राप्त र आवश्यक उपकरण भएका मिडवाइफ वा नर्सले हेरचाह नगरिएको औंल्याउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले त्यही कारण परिणाम चिन्ताजनक देखिएको बताउनुभयो।