Loading... आजः शनिबार , श्रावण १२, २०८१

नाेवेल कोरोनाविरुद्ध सार्कराष्ट्र एकजुट


लामो समयदेखि निस्क्रिय रहेका सार्क राष्ट्रहरु कोरोना भाइरसको महामारी फैलिँदा एकजुट भए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतबार भिडिओ सम्मेलन सम्भव भएको हो।

सम्मेलनमा मोदीसहित नेपाली प्रधानमन्त्री केपी ओली, भुटानी प्रधानमन्त्री लोते छिरिङ, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, पाकिस्तानी स्वास्थ्यमन्त्री डा. जफर मिर्जा, श्रीलंकन राष्ट्रपति गोतबाया राजपाक्ष र अफगानिस्तानका राष्ट्रपति असरफ घानी सहभागी थिए। सम्मेलनको क्रममा सबै राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुले कोरोना भाइरसविरुद्ध लड्न प्रतिवद्धता जनाएका थिए।

लोते छिरिङ, भुटानी प्रधानमन्त्री :

Insert your Ads code here

भुटानमा हामीले पहिलो कोरोना भाइरसका बिरामी पत्ता लगायौँ। साथै बिरामीसँग सम्पर्कमा आएकाहरुबारे पनि पत्ता लगाएका छौँ। कोरोना भाइरसले गर्दा साना देशहरुको आर्थिक अवस्थामा असर पुग्नेछ। यसैले आर्थिक प्रभावको क्षेत्रमा पनि हामी मिलेर काम गर्नुपर्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेतृत्वको लागि म बधाइ दिन चाहन्छु।

केपी ओली, नेपाली प्रधानमन्त्री :

हामीले अस्पतालको क्षमता बढाइरहेका छौँ। स्वास्थ्यकर्मीहरुलाई आत्मबल बढाउन रक्षात्मक उपकरण उपलब्ध गराउनुका साथै सुविधा बढाएका छौँ। कोरोना भाइरसविरुद्ध तयारी बढाउन पनि हामीले विभिन्न उपाय अपनाएका छौँ। मलाई आशा छ, यो सम्मेलनले कोरोना भाइरसविरुद्ध लड्न हामी सबैलाई नयाँ बाटो देखाउनेछ।

शेख हसिना, बंगलादेशी प्रधानमन्त्री :

यो पहलका लागि नरेन्द्र मोदीलाई म धन्यवाद दिन चाहन्छु। चीनको वुहानबाट भारतीय विद्यार्थीसँगै हाम्रा २३ विद्यार्थीलाई पनि सँगै ल्याएर उपचार गराएकोमा धन्यवाद दिन चाहन्छु। हाम्रा स्वास्थ्यमन्त्री, स्वास्थ्य अधिकारीहरुले पनि यस्तै छलफल र सम्मेलन गर्न सक्नेछन्।

गोतब्याय राजपाक्ष, श्रीलंकन राष्ट्रपति :

श्रीलंकामा सबै स्कुल र कलेज बन्द भएका छन्। यद्यपि धार्मिक उद्देश्य साथ हुने जमघट पनि प्रतिबन्धित गरिएको छ। हाम्रा अनुभव, धारणा र अभ्यास व्यक्त गर्ने अवसर जुराएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनैपर्छ।

श्रीलंकामा कुनै पनि संक्रमित भेटिएको छैन। हामीले धेरै उपाय अपनाएका छौँ, तर इटली र चीनबाट फर्कने श्रीलंकनहरुलाई रोक्न सक्दैनौँ।

इब्राहिम मोहम्मद सोलीह, माल्दिभ्स राष्ट्रपति :

भारतबाट सहयोग पाएकोमा माल्दिभ्स धन्य महसुश गरेको छ। साथै मेरो सरकारको तर्फबाट मोदी र भारतीय जनताको कदर गर्दछु। कोरोना भाइरसविरुद्ध लड्न तयार पारिने रणनीतिबारे म प्रधानमन्त्री मोदीसँग पूर्ण सहमत छु।

यो भाइरस विरुद्ध सँगै मिलेर सावधानी अपनाउनु हाम्रो मुख्य प्राथमिकता हो। जनवरीदेखि नै माल्दिभ्सले कोरोना भाइरसबाट जोगिन तयारी गरेको थियो।

असरफ घानी, अफगानिस्तानी राष्ट्रपति :

कोरोना भाइरस विरुद्ध लड्न टेली– मेडिसिन बनाउने साझा ढाँचा तयार गर्न प्रस्ताव गर्दछु। भारत सांघाइ कोअपरेशनको महत्वपूर्ण सदस्य छ, जसको सदस्य चीन समेत हो। ती मुलुकसँग हाम्रो सहकार्य बढाउनुपर्ने र उनीहरुको अनुभवबाट सिक्नुपर्ने मेरो प्रस्ताव छ।

डा. जफर मिर्जा, पाकिस्तानी स्वास्थ्यमन्त्री :

संसारभर संक्रमणको डेढलाख भन्दा धेरै केस सार्वजनिक भएका छन्। सबै सदस्यराष्ट्रमा संक्रमण फैलिसकेको छ। हामी यसबाट जोगिनका लागि तयार रहनु आवस्यक छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खान सम्मेलनमा सामेल थिएनन्। उनका विशेष सल्लाहकार समेत रहेका मिर्जा स्वास्थ्य मामिलाका जानकार पनि हुन्।

नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री :

हाम्रो जनता जनताबीच सम्बन्ध पुरानै हो। र हाम्रो समाज गहिरो रुपमा अन्तरसम्बन्धित छन्। यसैले हामी सबै मिलेर तयारी गर्नुपर्छ। सँगै लड्नुपर्छ र सँगै सफल हुनुपर्छ। कोरोना भाइरस प्रभावित देशबाट छिमेकी देशका नागरिकको उद्धार गर्न भारतले सहयोग गर्यो।

यो विशेष काममा जोडिने सबैलाई म धन्यवाद दिन चाहन्छु। म विशेष धन्यवाद दिन्छु हाम्रा मित्र नेपाली प्रधानमन्त्री केपी शर्मा ओली, जो आफ्नो ताजा अपरेशनका बावजुद हामीसँग जोडिनुभयो। उहाँको शिर्घ स्वास्थ्यलाभको कामना पनि गर्दछु।

कोरोना विरुद्ध लड्न संरचनागत सुविधाको विस्तारमा हामीले काम गरेका छौँ। साथै जोखिमपूर्ण क्षेत्रका लागि विशेष पहल गरेका छौँ। हामीले नआत्तिकन तयारी गर्नुपर्छ। सार्क राष्ट्रहरु तयारी अवस्थामा रहनु आवस्यक छ। जब कि, हामीकहाँ जम्माजम्मी १ सय ५० वटा केस छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!