निको भएर घर फर्किए सिक्किमको पहिलो र दोस्रो कोरोना बिरामी
आइपरेमा म स्वयं र सबै स्वास्थ्य विभागका डाक्टर कोविड वार्डमा खटिनेछौः डॉ एमके शर्मा
गान्तोक, 13 जुन। सिक्किमको एसटीएनएम कोविड 19 अस्पतालमा उपचाराधिन 60 कोरोना रोगीहरूमध्ये पहिलो अनि दोस्रो रोगी पूर्ण रूपमा निको भएर आज अस्पतालबाट छुट्टि पाएर आफ्नो घर फर्किए। राज्यमा अहिले कोरोना सकरात्मकको संख्या बढिरहेको भए पनि रोगीको निको हुने क्रम पनि शुरु भएपछि सबैले खुसी व्यक्त गरिरहेको छन्।
रोगीहरू पूर्ण रूपमा स्वास्थ्य भएर घर फर्किरहेकोले मानिसहरूमा राहत अनि स्वास्थ्य कर्मीहरूलाई प्रोत्साहन भइरहेक छ भने रोगीहरूलाई पनि ठूलो आशा बढाएको छ।
आज बिहान लगभग 11 बजी पहिलो कोविड 19 बिरामी अनि दोस्रो विरामी पूर्णरूपमा स्वास्थ्य भएपछि छुट्टी पाएर घर प्रस्थान गरे। उनीहरूलाई घर विदा गर्न राज्यको स्वास्थ्य मन्त्री डॉ. एमके शर्मा, स्वास्थ्य विभागका सचिव डॉ. पेम्पा टी भोटिया अन्य अधिकारीगण तथा कोविड योद्धाहरूले ताली बजाएर अभिनन्दन गरेका थिए। अब दुवै स्वस्थ्य भएर घर पुगे पनि कडा रूपमा अझै 14 दिनसम्म घरमै क्वारिन्टिनमा बस्नु पर्नेछ।
बिमारीबाट मुक्ति पाएका दुवैलाई स्वास्थ्य मन्त्री डॉ. शर्माले बधाई दिए भने विभागका कर्मचारीलाई व्यक्तिगत रूपमा बधाई अनि जनताको पक्षमा आभार पनि व्यक्त गरे।
अर्कोतिर आज स्वस्थ्यकर्मीको 43 जना अग्रिम पङ्क्तिका कोरोना योद्धाहरूले आफ्नो साप्ताहिक सेवा पुरा गरेका छन्। उनीहरूलाई अब 14 दिनको कोरिन्टिनमा पठाइएको छ।
यसैगरि आज पुनः 50 जना स्वास्थ्य कर्मी विशेषज्ञ, चिकित्सक, परिचारिका, स्वच्छता कर्मीले कोविड अस्पतालको भार ग्रहण गरेर जिम्मेवारी सम्हालेका छन्। यसबारे स्वास्थ्य मन्त्रीलाई भविष्यमा कोविड योद्धाको कमी हुँदैन भन्ने प्रश्न गर्दा उनले स्पष्ट रूपमा आफू स्वयं पनि चिकित्सक भएको अनि आफूसित कार्यरत अधिकारी जो पनि चिकित्सासितै जोडिएको हुनाले परिआएको बेला आफू स्वयं प्रत्यक्ष रूपमा कोविड वार्डमा बसेर सेवा गर्न तत्पर रहेको बताए।
कोरोनालाई जितेर फर्किएको दुवैजनालाई उनीहरूको गाउँमा गाउँले अनि पञ्चायतहरूले न्यानो स्वागत जनाए। अर्कोतिर कोरोनालाई जितेर आएका पहिलो युवाले आफ्नो अनुभव पनि मिडियामा साझा गर्दै सिक्किमको उपचार प्रति सन्तुष्टि व्यक्त गर्दै सबैलाई सकरात्मक सोच राख्नुपर्ने आह्वान पनि गरे। सिक्किममा अहिले सक्रिय कोविड 19 को बिमारी 58 जना रहेको छ भने अहिलेसम्म 5 जना पूर्ण रूपमा निको भएका छन्।