Loading... आजः बुधबार , मंसिर १९, २०८१

निर्माणाधिन जलविद्युत्‌को काम सुरु


कोरोना भाइरस संक्रमणको त्रास र सरकारको लकडाउनले बन्द निर्माणाधीन जलविद्युत् आयोजना तंग्रिन थालेका छन्। केही आयोजनाका निर्माण कार्य आंशिक रुपमा सुरु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

झण्डै दुई साता बन्द आयोजनाको निर्माण कार्य पूर्णरुपमा अघि बढ्न सकेको छैन। निर्माणको अन्तिम चरणमा पुगेका केही आयोजनालाई सक्नुपर्ने दबाब छ। यस बर्ष नसक्ने आयोजनालाई वर्षायामको बाढीपहिरोबाट जोगाउनुपर्ने बाध्यता छ। जलविद्युतमा कार्यरत मजदुरमध्ये केही घर गइसकेको अवस्थामै आयोजनाले निर्माण सुरु गरेका हुन्।

सरकारले ठूला आयोजना निर्माण गर्न दिने र सामाजिक दुरी कायम गरी निर्माण कार्य सुचारु गर्न निर्देशन दिए पछि प्रवर्द्धकले आयोजनाको निर्माण कार्य अघि बढाएको हो। दोर्दी करिडोरमा निर्माणाधिन पाँच आयोजनाका लागि दोर्दी गाउँपालिकाले सर्त राखेर अघि बढाउन भनेपछि प्रवर्द्धकले निर्माणकार्य सुचारु गरेको छ।

Insert your Ads code here

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार सरकारले लागु गरेको लकडाउनका सबै सावधानी पालना गरी निर्माण कार्य अघि बढाउन भनिएको छ। बढीमा १५/१५ जनाको समूहमा तीन/तीन मिटरको दुरीमा रहेर काम गर्नुपर्ने, आफ्नो कार्य क्षेत्रलाई सम्बन्धित वडाको वडाध्यक्ष र सरोकारवालाको उपस्थितिमा कार्य क्षेत्र तोकेर निषेधित क्षेत्रको सूचना टाँस्नुपर्ने सर्त राखेको छ।

उपाध्यक्ष दीलबहादुर घलेका अनुसार निर्माणक्षेत्रभित्र तोकिएको कर्मचारी तथा कामदार बाहेक अन्यँलाई प्रवेश रोक लगाउने र कामदारले तोकिएको क्षेत्रबाहेक अन्य काम गर्न नपाउने, कर्मचारी तथा कामदारको आवास र खानाको व्यवस्था तोकिएको क्षेत्रभित्र हुनुपर्ने सर्त पनि छ। सर्तअनुसार अन्य बजार, बस्ती तथा गाउामा जान पाइने छैन। क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरिसकेका कर्मचारी र कामदार बाहेकलाई प्रवेश निषेध गरिएको छ।

कोरोना (कोभिड १९) को सन्त्राससँगै सरकारले लकडाउन गरेपछि निर्माणाधिन नौ वटै जलविद्युत आयोजनाको निर्माण रोकिएको थियो। नौ वटा जलविद्युतको कूल क्षमता २ सय २ दशमलव १७ मेगावाट छ। दोर्दी करिडोरमा सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ र माथिल्लो दोर्दी ‘ए’ संगै २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी–१ र ४ मेगावाटको माथिल्लो छन्दीखोला जलविद्युतको निर्माण रोकिएका छन्।

मर्स्याङदी करिडोरमा ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना, ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र २ दशमलव ४ मेगावाटको अपर स्याागे जलविद्युत, मिदिमखोलामा निर्माणाधिन ७ दशमलव ५ मेगावाटको मिदिमखोला जलविद्युत आयोजनाको निर्माणकार्य बन्द थियो। अधिकांश आयोजनाको काम सुरु भइसकेको छ।

माथिल्लो दोर्दी ‘ए’ आयोजनाका निर्देशक राजेन्द्र वस्तीले ड्याम र टनेलमा निर्माण सुरु गरिएको बताउनुभयो। ‘पावरहाउमा कामदार लाने/ल्याउने समस्याले अघि बढ्न सकेको छैन’ उहाँले भन्नुभयो। २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माणकार्य ९७ प्रतिशत सकिएको छ। यही चैतमा निर्माण सक्ने भनिएको उक्त आयोजना तोकिएको समयमा नसक्ने भएको छ। ‘राम्ररी काम गर्न पाएमा एक महिनामा हामी सक्छौं’ उहाँले भन्नुभयो, ‘तर, वातावरण अहिले यस्तै छ।’

५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ का प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले ‘प्रोटेक्सन’को काम सुरु गरेको बताउनुभयो। ‘कामदारको मनस्थित घर जान पाए हुन्थ्यो भन्ने छ। बर्खा लाग्न लाग्यो। भएको संरचनालाई कसरी जोगाउने भन्नेतर्फ लागेका छौं’उहाँले भन्नुभयो।

आयोजनाको ८५ प्रतिशत सकिएको छ। २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाका निर्देशक गुरुप्रसाद ढकालका अनुसार आयोजनाको निर्माण कार्य सूचारु हुने क्रममा छ। ‘पावरहाउसमा मेशिनरी सामान जडान गर्नुपर्नेछ। यो बर्खाअगावै सक्नुपर्छ। मर्स्याङदीको भर छैन’उहाँले भन्नुभयो, ‘यसअघि बनेको आयोजनाले पानी छोडेपछि सिधै पावरहाउसमा आउछ। पस्यो भने त दसौं करोडको नोक्सान हुन्छ। त्यसैले अघि बढाउनुपर्ने छ।’ उहाँका अनुसार आयोजना ९० प्रतिशत सकिएको छ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाइँले आयोजनो निर्माण कार्य रोकिन नहुने बताउनुभयो। ‘करोडौं, अरबौं लगानीका निर्माणलाई रोक्दा यसले आर्थिक भार थपिन्छ। बरु सुरक्षित रुपमा निर्माण कार्य अघि बढाउँ भनेर पहल गरेका छौं’ उहाँले भन्नुभयो, ‘बरु निर्माण क्षेत्रमा स्थानीयले गर्ने अवरोधले समस्या बनाउने गर्छ। यसलाई निरुत्साहित गर्नुपर्छ।’

उहाँले बन्द भएका आयोजना सुचारु हुने क्रममा रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका निर्माणाधिन जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढेको बताउनुभयो। ‘भीडभाड गर्न भएन। काम गर्ने वातावरण तय गरेर आयोजना संचालन गर्न भनेका छौं’ उहाँले भन्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!