निवर्तमान राजदूत पौडेलद्वारा आफ्नो कार्यकालको मूल्यांकन
चीनका लागि निवर्तमान नेपाली राजदूत लिलामणि पौडेलले आफ्नो कार्यकाल महत्वपूर्ण र ऐतिहासिक बनेको बताउनुभएको छ। कार्यकाल केही महिना बाँकी छँदै सरकारले फिर्ता बोलाएपछि राजदूत पौडेल काठमाडौं फर्किनुभएको छ। बेइजिङस्थित नेपाली दूतावास छाड्नुअघि विज्ञप्ति जारी गर्दै पौडेलले कुनै नेपालीलाई आफ्नो काम, आचरण वा व्यवहारले हिनतावोध गर्नुनपर्ने उल्लेख गर्नुभयो।
विज्ञप्तिमा आफ्नो कार्यकालमा भएका उपलब्धीहरुको चर्चा गर्दै पौडेलले आफ्नो वुद्धि, क्षमता, विवेक, ज्ञान र स्रोतले भ्याएसम्म इमान्दारीपूर्वक भगीरथ प्रयत्न गरेको र त्यसमा आफूले कुनै सम्झौता नगरेको बताउनुभयो। नेपालका राष्ट्रपतिको चीन भ्रमण, चीनका राष्ट्रपतिको नेपाल भ्रमण, चीनले नेपाललाई उपलब्ध गराएको पारवहन यातायात सुविधा, बेल्ट एन्ड रोड सहयोग सम्वन्धी समझदारीलगायतलाई उनले आफ्नो उपलब्धीको रुपमा उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यही अवधिमा सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी भूकम्पपछिको पुनर्निर्माणमा सबैभन्दा ठूलो धनराशीको निशर्त अनुदान सहायता (३ अर्ब चिनियाँ युआन अर्थात् झण्डै ५१ अर्ब नेपाली रुपैयाँ) नेपालले चीनबाट प्राप्त गरेको छ । आगामी तीन वर्षका लागि चीनले नेपाललाई सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी बिना कुनै पूर्वशर्त ३.५ अर्ब युआन (करिब ६० अर्ब नेपाली रुपैयाँ) विकास अनुदान दिने समझदारी यस अवधिको उल्लेख गर्न लायक र नेपालको आर्थिक सामाजिक विकासका लागि कोशेढुङ्गा हुने सहयोग हो।’
उहाँले अहिले चीनभित्र नेपाल अभूतपूर्वरुपले परिचित बनेको अनुभूति गरेको बताउनुभयो। नेपाल र चीनबीचको सम्बन्ध थप प्रबर्द्धन गर्ने दिशामा एक सचेत नेपाली नागरिकका हैसियतमा आफ्नोे प्रयास निरन्तर जारी रहिरहने उहाँको वाचा छ।
विज्ञप्तिमा पूर्वराजदूत पौडेलले लेख्नुभएको छ ‘मैले पदमा रहँदा कुनै त्यस्तो काम जानीजानी गरेको छैन जसले गर्दा मलाई जिम्मेवारी दिने र विश्वास गर्ने नेतृत्वलाई पछुतो गर्न परोस् । मैले जानीजानी, नियत वा स्वार्थवस, दवाव वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले हिनतावोध गर्नु परोस् ।’