Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेकपाभित्रकाे कुकुर बिरालाेकाे जस्तो नेतृत्वतहमा विवाद कहिलेसम्म ?


सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काे नेतृत्वपंक्तिमा चलिरहेको कुकुर बिरालोकाे जस्तो झगडा भूसकाे अागाे जसरी सिङ्गो पार्टीमा बिस्तारै फैलिँदै छ। लामो समयदेखि पार्टी सचिवालय बैठक बस्न सकिरहेको छैन। बारम्बार सचिवालय बैठकको मिति निर्धारण हुँदै फेरि बिना कारण स्थगित हुने गरेको धेरै भइसकेको छ। यसैबीच, दुई शीर्ष नेताकाबीच भएको जम्काभेटपछि पार्टी स्थायी कमिटीकाे बैठक यही असार दश गते बस्ने निधाे भएको छ।

पछिल्लोपटक प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भएकोले दिउँसो चारबजे ताेकिएकाे सचिवालय बैठक एक्कासी अाधाघण्टा अगाडि स्थगित भएको थियो। यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पूर्वप्रधानमन्त्री तथा वरिष्ट नेता झलनाथ खनाल अाक्राेशित भएको देखियो सुनियो। वरिष्ट नेता झलनाथ खनालले मिडियामा अन्तर्वार्ता दिंदै अाक्राेश पनि पाेख्नुभयाे। सचिवालय बैठक बारम्बार स्थगित हुनुको मुख्य कारण एमसीसी देखिए, देखाइए पनि भित्री चुराे अर्कै छ।

सरकारकाे नेतृत्व गरिरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफ्ना सहकर्मी नेताहरु लगायत अाफ्नाे विचार समूह विपक्षका नेताहरूकाे सल्लाह र सहयोग नलिई एकलौटी रुपमा सरकार सञ्चालन गर्ने र अाफ्ना गुटका मानिसलाई महत्त्वपूर्ण पदमा नियुक्ति तथा सरुवा बढुवा गर्न थालेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरू केपी अाेलीका विरुद्धमा सार्वजनिक भएका हुन। लामो समयदेखि अान्तरिक विवाद सुल्झिन नसकेपछि राष्ट्रपति निवाससम्म पुगेको छ। गत सोमबार साँझ शीतल निवासमा पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा अाेली दुई शीर्ष नेताबीच जम्काभेट भयो।

Insert your Ads code here

राष्ट्रपति विद्यादेवी भण्डारीले केही राजनीतिक विषयमा परामर्श गर्न नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउनुभएको थियो। उहाँ बोलाइएकै समयमा पुग्नुभयो, एकछिनमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली पनि पुग्नुभयो। नेकपाका अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डकाे जम्काभेट राष्ट्रपति निवासमा भएको सम्बन्धमा जनअास्था साप्ताहिकले समाचार लेखेको छ।

जम्काभेटका समय राष्ट्रपतिले हालै संसदबाट पारित भएको संशोधित नक्सा संविधानको अनुसूचीमा राख्नका निम्ति भएको मतदानको सन्दर्भमा चर्चा गर्दै अध्यक्ष द्वयलाई बधाई दिनुभएको थियो। प्रचण्डले भने त्यही संसदबाट पारित भएको विनियोजन विधेयक (बजेट) बारे गुनासो राख्नुभयो ।

‘पहिला–पहिला हामी सत्तासाझेदार भन्ने हुन्थ्यो, अहिले त एउटै पार्टी भइसक्यौँ’, प्रचण्डले भन्नुभयो, ‘बजेट यस्तो आउँदैछ, यो–यो विषयलाई यसरी, यति समावेश गरिँदैछ भन्ने कुराहरु त पत्तो नै नपाइने स्थिति रह्याे। प्रचण्डको अाक्राेश नसकिंदै प्रधानमन्त्री अाेलीले साेध्नुभयाे: ‘चितवनमा पुग्यो नि ?’’

प्रधानमन्त्री केही जिज्ञासा राख्न खोज्दै हुनुहुन्थ्यो, प्रचण्डले भन्नुभयो, ‘पर्टिकुलर जिल्ला, क्षेत्र, आयोजनाको कुरा भएन। समग्र बजेटको सैद्धान्तिक, कार्यक्रमिक, त्यसको आकारदेखि भाषा र नियतसम्मका कुरामा पार्टीभित्रै साथीहरुले अनेक कुरा उठाउन थाल्नुभएको छ। नभए मलाई पनि पार्टीको मन्त्रीले ल्याएको बजेट हो, त्यसैले समर्थन छ भन्नुपर्ने बाध्यता नहुने थियो होला।’

प्रधानमन्त्रीले सोध्नुभयो, ‘किन त्यसो भन्नुभएको त ?’

‘त्यति नभनेको भए साथीहरुलाई थेग्न गाह्रो हुने भइसकेको थियो। तपाईं बैठक, छलफल र बहसलाई छल्दै सरकार चलाउन खोज्ने, हामीले साथीहरुलाई कति थामथुम पार्ने ?’ प्रचण्डले अलिक आक्रामक भएर जवाफ दिनुभयो। उहाँको गुनासो थियो, ‘एमसिसीबारे कार्यदल बनाइसकेपछि त्यसको सुझावका आधारमा फेरि एकचोटि बैठकमा कुरा गरौँ भनेको हो। पार्टी एकता, राष्ट्रिय हितभन्दा एमसिसी ठूलो होइन भनेर म पटक–पटक भन्दैछु। तपाईंचाहिँ हामी दुईजना बसेर सुल्झाउने कुरामात्रै गर्नुहुन्छ।

एमसिसीबारे साथीहरुलाई मनाउन सकिने र त्यसका लागि दुई अध्यक्षबीच एकमत निर्माण हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। तर,प्रचण्डले त्यस्तो सम्भावना स्वीकार्नु भएन।

‘यदि हुन्थ्यो भने, तपाईं वामदेव मेरै पोल्टामा आए भन्ठान्नुहुन्थ्यो नि, अर्थमन्त्रीहरु सहित बसेको बैठकमा वामदेवजीले के भन्नुभयो ? सुन्नुभएको थियो नि’, प्रचण्डले भन्नुभयो, ‘अहिले तपाईंले विश्वास गर्नुभएका वादल,वामदेवहरु नै एमसिसी राष्ट्रघातको भनेर अभियानमा निस्कने स्थितिमा हुनुहुन्छ।’

उहाँले वादलबारे भन्नुभयो, ‘पूर्वमाओवादीका नाममा हामीले बादललाई कतै अंकुश लगाएका छैनौँ। तपाईं सरकारको प्रधानमन्त्री हो । उहाँ तपाईंको गृहमन्त्री हो। उहाँलाई तपाईंले नेतृत्व दिने,मन्त्रीका रुपमा काम गर्न उहाँले आफ्नो विवेक प्रयोग गर्ने। बस्,बादलबारे हाम्रो नीति यत्ति हो।’

उहाँले थप्नुभयो, ‘वादललाई तपाईं पूर्वमाओवादी हो,सरकारमा पूर्वमाओवादीको पोजिसनलाई इम्प्लिमेन्ट गर्नुस्,मैले जे भन्छु त्यसमा हिँड्नुस् भनेर आजसम्म मैले भनेको छैन। भन्दिनँ पनि। किनभने, वादलजत्तिको नेतालाई मैले सिकाइरहनुपर्ने,सम्झाइरहनुपर्ने होइन। उहाँ आफैँमा एकजना रणनीतिकार, नेतृत्वकर्ता भएको नाताले अरु पूर्वमाओवादीका मन्त्रीलाई केही भनिएको छ भने पनि वादलको हकमा केही नभनौँ है भनेर हामीले साथीहरुका बीचमा कुरा गरेकै छौँ। यसो भन्दा साथीहरुले (मन्त्री रहेकै साथीहरुले) बादल त अहिले पूरै ओली कित्तामा गइसक्नुभयो भन्ने कुरा ल्याउनुभयो। मैले भनेँ, हुन दिनुस्। पार्टी नै मिलिसक्यो भने वादल र केपी मिल्दा के बिग्रिन्छ र ?’

सडकमा देखिएका असन्तुष्टिवारे पनि त्यहाँ कुरा उठ्यो-प्रधानमन्त्रीले भन्नुभयो-“ए,कति थिए रे,दुई तीन सय जना ? एक लाखसम्म आउन दिनोस् न म सम्झाएर तिनलाई तितरबितर पारिहाल्छु नि ! ”

पछिल्लो समय एमसिसीका बारेमा प्रधानमन्त्रीले बढी नै भर गर्नुभएका नेताद्वय वामदेव र वादलले स्पष्ट भाषामा त्यसको समर्थन गर्न नसकिने बताइसकेको यो प्रसंग सिध्याएर प्रचण्डले कुरा लैजानुभयो, आफूमाथिको अपमानतिर ।

‘प्रधानमन्त्रीमा आधा–आधा कार्यकालको सहमति भएको हो कि होइन, यो कुरा तपाईंले अरुलाई जे भने पनि तपाईं र मलाई त थाहा छ नि’, प्रचण्डले भन्नुभयो, ‘एउटा प्रधानमन्त्रीको पदसँग पार्टी एकतामा सौदावाजी नगरौँ भन्ने थुुप्रै साथीहरुको धारणा आयो। त्यसपछि मैले पाँचै वर्ष केपी कमरेड प्रधानमन्त्री भनेँ। पार्टी चलाउने अध्यक्षका रुपमा मलाई भूमिका दिने भन्ने कुरा भयो। तर,बैठक बोलाउन नपाइने,बैठक बोलाए पनि त्यसले बैठकको मान्यता नपाउने,निर्णयहरु कार्यान्वयनको कुरा त परैको भयो,सुनुवाईसमेत नहुने स्थिति छ।’

यस्तो भयानक असन्तुष्टि सुनेपछि प्रधानमन्त्रीले ‘हैन,केही बिग्रिएको छैन । मिलाएर लैजान सकिन्छ’ भन्नुभयो ।

राष्ट्रपतिले खासै प्रतिक्रिया दिनुभएन।

कुराकानीका क्रममा प्रचण्डले पटक–पटक संकेत गर्नुभएको विषय हो, सरकार र पार्टीको भविष्य सोचेजस्तो हिसाबको छैन,आन्तरिक असन्तुष्टि विष्फोटउन्मुख छ।

यसकाे भाेलिपल्ट अर्थात गत मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अाेली स्थायी कमिटी बैठक बाेलाउन राजी हुनुभएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अाेलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बाेलाएर यही असार १० गते स्थायी कमिटी बैठक बाेलाउने तय गर्नुभएको छ। अब हेर्नुछ, स्थायी कमिटी बैठक ताेकिएकाे समयमै बस्छ कि फेरि स्थगित हुन्छ। कतिपय जानकारहरु भन्छन् : प्रधानमन्त्रीकाे राजीनामा माग्ने र सरकारले गरेको संस्थागत भ्रष्टाचारबारे कुरा जाेडताेडले उठ्ने सम्भावना भएको अवस्था देखिएमा प्रधानमन्त्रीले पुनः स्थगित गर्नसक्नुहुनेछ। पार्टीभित्र जारी कुकुर बिरालाेकाे जस्तो झगडा कहिलेसम्म ? अाम पार्टी कार्यकर्ता माँझ नसुल्झिएकाे प्रश्न बनेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!