नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद मिलाउन पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६सदस्यीय कार्यदल बनेको छ।
कार्यदलमा पौडेलसहित भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भूसाल सदस्य छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान बसेको बैठकले कार्यदलमार्फत विवाद समाधानको उपाय खोज्ने निर्णय भएको नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
थापाका अनुसार कार्यदललाई तीन जिम्मेवारी दिइएको छ। ‘आन्तरिक समस्याको सकारात्मक समाधान खोज्ने, एकतालाई अक्षुण राख्दै नेपाली जनताको जनादेशअनुसार प्रभावकारीरुपमा अगाडि बढ्न कार्यदलले ठोस प्रस्ताव गर्नेछ,’ उहाँले भन्नुभयो।
Insert your Ads code here
स्थायी कमिटीको बैठक सुचारु गर्ने विषयमा मतभेद भएपछि रोकिएको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबारदेखि पुनः छलफल प्रारम्भ भएको थियो।
स्थायी कमिटी बैठक स्थगित भएको ९ दिन पछाडि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको थियो। एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बिहीबार पछाडिका पाँच दिनभित्रै सहमति हुने विश्वास दिलाउनुभएको थियो।
दुई अध्यक्षबीच गत साउन १८, १९ र २० गते वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बैठक बसेको थियो। तर, दुवै पक्ष अडानमा कायम रहेकाले सहमति हुन सकेको थिएन।