Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालका प्रधानमन्त्रीसँग सार्क महासचिवको शिष्टाचार भेट


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान विराकुनले सोमबार शष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीले सार्कको वर्तमान अध्यक्षको रूपमा नेपालले अर्को शिखर सम्मेलनको उपयुक्त वातावरण बनाउन अन्य सदस्य राष्ट्रहरूसँग निरन्तर प्रयास र परामर्श भइरहेको बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

भेटका क्रममा सार्कको आगामी शिखर सम्मेलनका लागि वातावरण बनाउन आवश्यक पहल गर्न निर्देशनसमेत दिनुभएको छ। प्रधानमन्त्री ओलीले दिगो विकासलगायतका साझा विकासका आकांक्षाहरू प्राप्त गर्नुका साथै यस क्षेत्रको कोरोना (कोभिड–१९ ) महामारी र गरिबीजस्ता साझा समस्याहरूको सामना गर्न सार्कको महत्व र सान्दर्भिकतालाई प्रष्ट्याउनुभयो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सार्क क्षेत्रको वर्तमान स्थितिसँगै कोभिड–१९ लडाइका लागि सार्कको पहलका बारेमा छलफल भएको सार्क सचिवालयले जनाएको छ। कोरोनाविरुद्ध लड्न सार्क नेताहरूको भिडियो सम्मेलनलाई स्मरण गर्दै प्रधानमन्त्रीले यस क्षेत्रका जनताको जीवनस्तर र जीवनको गुणस्तर बढाउन सार्क प्रक्रियालाई पुनर्जीवित गर्न र अझ सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो। सचिवालयका अनुसार, शिष्टाचार भेटका क्रममा सार्कका चौधौँ महासचिवको रूपमा नियुक्त हुनु भएकोमा विराकुनलाई प्रधानमन्त्री ओलीले सफल कार्यकालको लागि बधाई दिनुभयो। प्रधानमन्त्री ओलीले दक्षिण एसियासम्बन्धी आफ्नो विशाल कूटनीतिक अनुभव र ज्ञानका साथ महासचिवले सार्क प्रक्रियालाई थप सुदृढ पार्न ठूलो योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। महासचिवको हैसियतमा सार्कका हरेक गतिविधि सफलताका साथ पूरा गर्न नेपाल सरकारको पूर्ण समर्थन रहेको आश्वासनसमेत प्रधानमन्त्री ओलीले दिनुभयो।

Insert your Ads code here

सार्क महासचिव विराकुनले आफूलाई सार्कका महासचिवको रूपमा मनोनयन गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो। सार्क सचिवालयलाई नेपाल सरकारले दिएको अनमोल सहयोगको सराहना गर्दै महासचिव विराकुनले नेपाल सरकारले महासचिवको रूपमा आफ्नो दायित्व पूरा गर्न पनि यस्तै सहयोग र मार्गनिर्देशन आगामि दिनमा दिने आशा व्यक्त गर्नुभएको थियो।

महासचिव विराकुनले प्रधानमन्त्रीलाई सार्क सचिवालयको सम्पादन गरेका पछिल्ला गतिविधिहरूको बारेमा जानकारी गराउनुभयो। जस अनुसार कोभिड–१९ महामारीविरुद्धको लडाइँमा भइरहेका गतिविधिसमेत सामेल रहेको सचिवालयले प्रस्ट पारेको छ।

सार्कमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स, भुटान र अफगानिस्तान सदस्य रहेका छन्। पाँच वर्षअघि नेपालमा १८ औँ सार्क शिखर सम्मेलनपछि १९ औँ सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो। तर भारत पाकिस्तानबीचको तनावका कारण त्यो शिखर सम्मेलन अन्योलमै रहेको छ। सार्क क्षेत्रको आपसी विकासलाई सहकार्यका आधारमा अघि बढाउने र यस क्षेत्रका ७० करोड विपन्न जनताको जीवनस्तर उकास्ने लक्ष्य सार्कले बोकेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!