Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालका हिमताल फुट्ने जोखिम,जोखिम घटाउन बजेट अभाव


नेपालका हिमताल फुट्नसक्ने उच्च जोखिममा रहेको विभिन्न अध्ययनहरूले पुष्टि गरे पनि जोखिम न्यूनीकरणमा भने चुनौती देखिएको छ। जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने वित्तीय लगानीको अभावले चुनौती देखिएको हो। नेपाल, भारत र चीनमा अवस्थित ४७ ओटा हिमताल फुट्नसक्ने जोखिममा रहेको एक अध्ययनले देखाएको कारोबार अनलाइनले लेखेको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले संयुक्त रूपमा गरेको अध्ययनले हिमताल उच्च जोखिमका रहेको देखाएको छ। इसिमोड र यूएनडीपीको ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको मस्यौदा प्रतिवेदन सोमबार सार्वजनिक गर्ने तयारी भइहेको छ। प्रतिवेदनअनुसार ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ। यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ।

अध्ययनअनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ हिमताल छन्। यीमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ चीनमा र ४५ वटा भारतमा पर्छन्। प्रतिवेदनअनुसार हिमतालहरूको बाँधको रूपमा रहेको पहाडको विशेषता, पानीको स्रोत, तालको फैलावट परिवर्तन र आसपासको भू–बनोट विश्लेषण गरी जोखिमयुक्त हिमताल पहिचान गरिएको हो।

Insert your Ads code here

हिमतालको जोखिम न्यूनीकरण गर्न बढी लागत आवश्यक देखिए पनि यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको जल तथा मौसम विज्ञान विभागको ठम्याइ छ। विभागका अनुसार एक हिमतालबाट हुने क्षति न्यूनीकरणका लागि करिब ४० करोड लागत लाग्छ। नेपालमा पर्ने २१ ओटा हिमतालको जोखिम न्यूनीकरण गर्न ८ अर्ब ४० करोड अनुमानित लागत लाग्ने विभागले बताएको छ। विभागका महानिर्देशक सरजुकुमार वैद्यले जोखिममा रहेका कतिपय हिमतालहरू अझै पनि खतरापूर्ण अवस्थामा रहेको बताउँदै बजेट अभावले तत्काल जोखिम न्यूनीकरणका कार्यक्रमलाई अगाडि बढाउन नसकिने बताउनुभयो। “जलवायु परिवर्तनका कारण तापक्रम बढिरहेको छ, हिमताल बनिरहेको छ, हिउँ पग्लिरहेको छ, यसलाई रोक्न सकिँदैन, क्षति कम गर्न के गर्नुपर्छ त्यो गर्ने हो,” उहाँले भन्नुभयो, “यसका लागि खर्च पनि धेरै हुन्छ, पर्याप्त बजेट छैन, क्षति न्यूनीकरणका लागि चुनौती छ। यसकारण एकैपटक गर्न पनि सकिँदैन।” उच्च जोखिम रहिरहेमा हिमतालको जोखिम न्यूनीकरण सरकारले मात्रै गर्न नसक्ने भन्दै महानिर्देशक वौद्यले यसका लागि अन्य वैदेशिक दातृ निकायहरूको सहयोग आवश्यक पर्ने बताउनुभयो। “हामीले हिमताल बढ्नबाट रोक्न त सक्दैनौ तर जोखिम घटाउन सक्छौं, यसबाट क्षतिलाई न्यूनीकरण मात्रै गर्ने हो,” उहाँले भन्नुभयो।

विभागले नै नेतृत्व लिएर हिमताल फुट्नसक्ने जोखिममा रहेका च्छो रोल्पा र इम्जा हिमतालको पानीको सहत घटाएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणहरूले सुरक्षित महसुस गर्न पाएका छन्। सेनाले इम्जा र च्छो–रोल्पा हिमतालबाट ३ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गर्ने काम गरेको थियो। च्छो रोल्पा, इम्जा, ठुलागी, चामलाङ, वरुण, लुम्दिङ हिमताल उच्च जोखिममा रहेको इसिमोडले तयार गरेको प्रतिवेदनमा उल्लेख छ। २०३० सम्ममा ५ ओटा हिमतालाई थप जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!