Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको ई–पासपोर्ट छाप्न चार विदेशी कम्पनीको प्रस्ताव


राहदानी विभागले ई–पासपोर्ट छाप्न आह्वान गरेको ठेक्कामा चार विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । विभागले चारै कम्पनीको प्रस्ताव शुक्रबार खोलेको हो । विभागले तीन वर्षमा २० लाख ई–पासपोर्ट छाप्ने गरी ठेक्का सूचना निकालेको थियो । चारै कम्पनीको आर्थिक प्रस्ताव खोले पनि आर्थिक, प्राविधिक र अनुभव पक्षको मूल्यांकनका लागि करिब दुर्ई साता लाग्ने विभागले जनाएको छ । पासपोर्ट छाप्न फ्रान्सेली कम्पनी आइडेमिया, अमेरिकी कम्पनी एचआईडी ग्लोबल, चिनियाँ कम्पनी आइसिनो र जर्मनी कम्पनी मुलबर आईडी सर्भिसेजले प्रस्ताव हालेका छन् ।

विभागले १६ लाख थान पासपोर्ट ३२ पेज र ४ लाख थान पासपोर्ट ६४ पेजको हुने गरी छाप्न ठेक्का आह्वान गरेको हो । पासपोर्ट छपाइको जिम्मा पाउने कम्पनीले सबै जिल्ला र नेपाली राजदूतावास भएका स्थानमा आवश्यक उपकरण जडानसमेत गर्नुपर्नेछ । नेपालले आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्ने भन्दै यसअघि विभागले आह्वान गरेको टेन्डर रद्द गरिएको थियो ।

आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्ने र त्यसमै पासपोर्ट छाप्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विभागले ठेक्का रद्द गरेको थियो । तर सेक्युरिटी प्रेस स्थापनामा ढिलाइ हुने भएपछि विभागले तत्कालका लागि २० लाख पासपोर्ट छाप्न फेरि टेन्डर गरेको हो । सेक्युरिटी प्रेस खरिदका लागि मन्त्रिपरिषद्ले गत पुसमै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको भए पनि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घूस मागेको अडियो सार्वजनिक भएपछि यो प्रक्रिया रोकिएको कान्तिपुर अनलाइनमा खबर छ।

Insert your Ads code here

सरकारले जर्मन र फ्रान्सेली कम्पनीसँग मात्रै प्रस्ताव माग गरेर बिनाप्रतिस्पर्धा सेक्युरिटी प्रेस खरिद गर्न लागेको थियो । तत्कालीन मन्त्री बाँस्कोटाले स्विट्जरल्यान्डका कम्पनीका एजेन्ट बताउने विजय मिश्रसँग घूस बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएर सेक्युरिटी प्रेस खरिदको प्रक्रिया पनि रद्द भएको छ ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा संसदीय समितिले चासो देखाएपछि मन्त्रिपरिषद्ले यसअघिको प्रक्रिया रद्द गर्दै प्रतिस्पर्धामार्फत खरिद गर्ने निर्णय गरिसकेको छ । विभाग स्रोतका अनुसार फ्रान्सेली कम्पनी आइडेमियाले पासपोर्ट छपाइको जिम्मा पाउने सम्भावना छ ।

यही कम्पनी राष्ट्रिय परिचयपत्र छाप्ने जिम्मा पनि पाएको छ । परिचयपत्र छाप्ने उपकरण जडानका लागि गत वर्ष सरकारले यही कम्पनीलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएको थियो । आइडेमियाले राष्ट्रिय परिचयपत्र वितरणका लागि थालिएका नमुना परियोजनाका क्रममा छपाइको जिम्मा पाएको थियो । सरकारले ०७३ मा कम्पनीलाई एक लाख १७ हजार कार्ड छापी वितरण गर्ने जिम्मा दिएको भए पनि अहिलेसम्म कम्पनीले पूरै कार्ड वितरण गरिसकेको छैन । आइडेमियाले ४९ करोड रुपैयाँमा पाइलट प्रोजेक्टको कार्ड छाप्ने जिम्मा पाएको थियो ।

सरकारले पाइलट प्रोजेक्टका रूपमा जिम्मा दिँदा आइडेमियाको नाम मोर्फो थियो । फ्रान्सेली कम्पनी मोर्फेको नाम परिवर्तन भई आइडेमिया बनेको हो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!