नेपालको एउटा खानीमा फलाम निकाल्न सकिने चिनियाँ प्रयोगशालाको पुष्टि
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले चिनियाँ प्रयोगशालामा गरिएको परीक्षणमा ‘मेटालजिकल रिपोर्ट’ उत्साहजनक रहेको बताउनुभयो। ‘अब खानीमा फलामको मात्रा कति प्रतिशत छ भन्ने रिपोर्ट यसै साता आउँछ, त्यसपछि सबै प्रक्रिया अघि बढ्छ,’ उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयले त्यहाँ बाटो, बिजुली, सम्भाव्यता अध्ययनका लागि पर्याप्त बजेट विनियोजन गरेको छ । अबको साढे २ वर्षभित्र फलाम उत्पादन सुरु हुन्छ।’
विभागका अनुसार चिनियाँ प्रयोगशालाले नेपालमा कोइला नभएकाले बिजुलीबाट फलाम पगाल्ने गरी कारखाना चलाउनुपर्ने औंल्याएको छ। चिनियाँ प्रयोगशालाले ‘मेटलर्जिकल टेस्ट’ सफल भएको भिडियो तीन दिनअघि विभागमा पठाएको हो। कान्तिपुर अनलाइनका अनुसार धौवादी देशकै सबैभन्दा ठूलो फलाम खानी हो। २ करोड टनभन्दा बढी फलाम निकाल्न सकिने अनुमान गरिएको खानीमा फलामको प्रतिशत कति छ भनेर ‘केमिकल एनलाइसिस टेस्ट’ गर्न भने बाँकी छ।धौवादीमा खटिएका जियोलजिस्ट नारायण बास्कोटाका अनुसार चिनियाँ रिपोर्टले व्यावसायिक फलाम उत्पादन हुनसक्ने देखिएको हो।
दैनिक ८ सयदेखि १२ सय मेट्रिक टन फलाम उत्पादन सकिने प्रारम्भिक निष्कर्ष छ। सरकारले धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट २४ किलोमिटर र महेन्द्र राजमार्गको डन्डा बजारबाट २० किलोमिटर उत्तरमा यो खानी छ। हुप्सेकोट गाउँपालिका–५ मा रहेको फलाम खानीसम्म पुग्न बजेट विनियोजन भएर सडक निर्माणको कामसमेत अघि बढेको छ।
उक्त फलाम खानीबाट स्थानीयले घरेलु बन्दुक, कुटो–कोदालोलगायत सामग्री बनाउँदै आएका छन्। यही जानकारी पाएपछि सरकारले ९ वर्षअघिबाट त्यहाँ उत्खनन र अनुसन्धान सुरु गरेको थियो।