Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको पर्यटन उद्योगमा ४ अर्ब विदेशी लगानी


नेपालका बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा सवा खर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। यो गत कात्तिकसम्म पर्यटन र होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी हो। जसमध्ये चालु वर्षको चार महिनामा मात्र यो क्षेत्रमा थप साढे ९ अर्ब रुपैयाँ लगानी विस्तार भएको कान्तिपुर अनलाइनले लेखेको छ। यो भ्रमण वर्ष २०२० को आसपासमा गरिएको लगानी हो। भ्रमण वर्षका कारण पछिल्ला महिनामा यो क्षेत्रमा लगानी बढेको छ।

गत असारको तुलनामा गएको चार महिनामा पर्यटन क्षेत्रमा वित्तीय संस्थाको लगानी करिब साढे ८ प्रतिशतले बढेको छ। २०७५ कात्तिकसम्म यस्तो लगानी करिब साढे ११ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिकसम्म पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। गत आवको सोही अवधिमा यस्तो लगानी ९५ अर्ब ८५ करोड रुपैयाँ थियो।

होटल, ट्रेकिङ, रिसोर्टलगायत क्षेत्रबाट ऋणको माग बढेको, निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनलगायत कारण यो क्षेत्रमा वित्तीय संस्थाको लगानी बढेको बैंकरहरू बताउँछन्।

Insert your Ads code here

‘राष्ट्र बैंकले प्राथमिकता क्षेत्रमा राखेपछि पर्यटन क्षेत्रमा लगानी बढेको छ,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भन्नुभयो, ‘ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक भित्र्याएर यसलाई दिगो बनाउने चुनौती छ।’ काठमाडौं उपत्यकामा मात्र नभएर मोफसलका प्रमुख सहरमा पनि पर्यटनमा लगानी बढेको उहाँले जानकारी दिनुभयो।

ट्रेकिङ, रिसोर्ट, र्‍याफ्टिङ, क्याम्पिङलगायत क्षेत्रमा प्रवाह गरेको लगानीलाई बैंक तथा वित्तीय संस्थाले पर्यटन शीर्षकमा राख्ने गरेका छन्। पछिल्ला वर्षमा यी क्षेत्रमा ऋणको माग बढेको हो। ‘चालु आवको पहिलो चार महिनामा पर्यटन शीर्षकमा बैंक लगानी ९.७ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकको चार महिनाको प्रतिवेदनमा भनिएको छ, ‘सोही अवधिमा होटलमा बैंक तथा वित्तीय संस्थाको लगानी वृद्धिदर ८.१ प्रतिशत छ।’ प्रतिवेदनअनुसार गत कात्तिकसम्म पर्यटन क्षेत्रमा क्षेत्रमा मात्र बैंक तथा वित्तीय संस्थाको लगानी २५ अर्ब र होटलमा ९८ अर्ब ६८ करोड रुपैयाँ छ।’

पर्यटन क्षेत्रमा लगानी विस्तारका लागि राष्ट्र बैंकले पनि विभिन्न सुविधा दिएको छ। यसअघि वाणिज्य बैंकहरूले कुल लगानीको न्यूनतम १० प्रतिशत कृषिमा र पर्यटन तथा ऊर्जामा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन थियो। एक साताअघि राष्ट्र बैंकले सो निर्देशन परिमार्जन गरी पर्यटन, ऊर्जालगायत अन्य क्षेत्रमा कुल लगानीको न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। पर्यटन क्षेत्रमा प्रवाह भएको लगानीबापत राष्ट्र बैंकले पुनर्कर्जा सुविधा दिएको छ। बैंकहरूले पर्यटन क्षेत्रमा लगानी गरेबापत राष्ट्र बैंकबाट ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउँछन्। यो सुविधाअन्तर्गतको कर्जा बैंकले ६ प्रतिशतमा लगानी गर्नुपर्छ।

पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रूपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माईपोखरी, भीमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापनाका लागि ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले वार्षिक ३ प्रतिशतमा पुनर्कर्जा पाउँछन्।

गत असारसम्म नेपालको पर्यटन क्षेत्रमा करिब ४ अर्ब रुपैयाँ विदेशी लगानी आएको छ। यो पर्यटन क्षेत्रका होटल, ट्रेकिङ, रिसोर्ट, र्‍याफ्टिङ, क्याम्पिङलगायत क्षेत्रमा भएको विदेशी लगानी हो। पछिल्ला वर्षमा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ। गत असारसम्म राष्ट्र बैंकले पर्यटन क्षेत्रमा ११ अर्ब ४१ करोड ७९ लाख विदेशी लगानी ल्याउन अनुमति दिएको छ। त्यसमध्ये ३ अर्ब ९९ करोड ८१ लाख रुपैयाँ आएको मात्र आएको छ। पछिल्ला महिनामा आएका विदेशी लगानीका आवेदनमध्ये धेरै जलविद्युत्, पर्यटन र सिमेन्ट क्षेत्रसँग सम्बन्धित रहेको राष्ट्र बैंकले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!