Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको ११७ मुलुकसँग व्यापार घाटा


नेपालले वैदेशिक व्यापार गरिरहेकामध्ये १ सय १७ मुलुकसँग घाटा रहेको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ सय ४९ मुलुकसँग व्यापार गर्दै आएको छ। त्यसमा ३२ मुलुकसँग मात्रै व्यापार नाफा छ। त्यो नाफा पनि न्यून छ। ‘६ मुलुकमा निर्यात मात्रै भयो। आयात नहुँदा नाफा देखिएको हो,’ विभागका प्रवक्ता शिशिर घिमिरेले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

केही युरोपियन मुलुकमा गलैंचा र पश्मिनाको माग बढेको छ। जसले गर्दा पनि नाफा देखिएको छ। नाफा भएका मुलुकमध्ये सबैभन्दा बढी अल्जेरियासँग छ। यो मुलुकसँग ७ करोड ७४ लाख रुपैयाँ, डेनमार्कसँग ६ करोड ६६ लाख रुपैयाँ, माल्दिभ्ससँग २ करोड २१ लाख र क्यामरुनसँग १ करोड रुपैयाँ व्यापार नाफा छ। यीबाहेक अन्य मुलुकसँग भने लाखको तहमा व्यापार नाफा छ।

प्रमुख मुलुकसँगको व्यापार अवस्था सन्तोषजनक छैन। मुलुकको मुख्य व्यापार रहेको भारतसँग मात्र ४ खर्ब ५१ अर्ब ८ करोड व्यापार घाटा छ। विभागको तथ्यांकअनुसार ७ महिनामा ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएकोमा ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। चीनसँगको व्यापार घाटा पनि १ खर्ब ३१ अर्ब ५६ करोड रुपैयाँ छ। विभागको तथ्यांक अनुसार ७ महिनाको अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। यीबाहेक इन्डोनेसियासँग २१ अर्ब ५३ करोड, यूएईसँग १२ अर्ब ३८ करोड रुपैयाँ, अमेरिकासँग ५ अर्ब ९८ करोड रुपैयाँ व्यापार घाटा छ।

Insert your Ads code here

व्यापार घाटा बढ्नुको मुख्य कारण पर्याप्त मात्रामा स्वदेशी उत्पादन नहुनु रहेको जानकारहरू बताउँछन्। कृषिजन्य वस्तुको उत्पादन वृद्धि, उद्योगको प्रवर्द्धन र विद्युत् निकासी नभएसम्म घाटा कम हुने सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ। ‘तेस्रों मुलुकबाट आयातित वस्तु रिफाइन भएर पुनः निर्यात हुँदा व्यापार केही बढेको देखिन्छ,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले भन्नुभयो, ‘तर यो दिगो होइन। व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशी उद्योगकै उत्पादन बढाउनुपर्छ।’ यसका लागि उत्पादनमूलक उद्योग एवं स्वदेशी कृषि उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो।

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा कुल वैदेशिक व्यापार ८ खर्ब ६८ अर्ब ५७ करोड रुपैयाँको भएको विभागको तथ्यांक छ। यसमध्ये ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ। ६४ अर्ब ९७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। ७ महिनाको अवधिमा व्यापार घाटा ७ खर्ब ३८ अर्ब ६३ करोड रुपैयाँ भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.३३ प्रतिशत कम हो। अघिल्लो वर्षको ७ महिनाको अवधिमा व्यापार घाटा ७ खर्ब ८० अर्ब रुपैयाँ थियो। तथ्यांक अनुसार निर्यात रकम पनि २२.४१ प्रतिशत बढेको छ। आयात रकम ३.५६ प्रतिशत घटेको तथ्यांक छ। ‘अघिल्लो वर्षको तुलनामा समग्रमा सुधार भएको छ। अलैंची र पाम तेलको निर्यातले व्यापार बढाएको छ,’ प्रवक्ता घिमिरेले भन्नुभयो, ‘इन्धन आयात सामान्य घटेको छ।’ निर्यात भएका वस्तुमध्ये सबैभन्दा अगाडि प्रशोधित पाम तेल रहेको विभागले जानकारी दिएको छ। ७ महिनाको अवधिमा १३ अर्ब ८९ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको छ।

पाम तेल नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन। अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि गुणस्तरका आधारमा थोरै भन्सार लाग्छ। पुनः भारत निर्यात गर्दा महसुल नलाग्ने भएकाले व्यवसायीहरू कच्चापदार्थ ल्याएर प्रशोधन गरी निर्यात गर्नेतर्फ आकर्षित भएका छन्। दोस्रोमा प्रशोधित भटमास तेल ५ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ। ६ महिनामा ४ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको थियो। कच्चा भटमास तेल ब्राजिल र अर्जेन्टिनाबाट आयात हुन्छ। यसलाई नेपालमा प्रशोधन गरी पुनः निर्यात गरिँदै आएको छ।

स्वदेशी वस्तुमै क्रमशः आत्मनिर्भर नभएसम्म समस्या हुने पूर्वअर्थसचिव सुवेदीले दाबी गर्नुभयो। ‘निर्यातका लागि नगदे बाली छन्। तर अर्बौं रुपैयाँको चामल र तरकारी आयात हुन्छ। स्थानीय उत्पादन वृद्धि गरेरै आयात प्रतिस्थापन गर्ने हो,’ उहाँले भन्नुभयो, ‘हामीले ठूलो परिमाणमा व्यापार घाटा घटाउन विद्युत् निकासीमै जोड दिनुपर्छ।’ सम्भावित निर्यातजन्य वस्तु पहिचान गरी तिनको प्रवर्द्धन गर्न सके राम्रो हुने उहाँको भनाइ छ।

७ महिनामा ५ अर्ब १२ करोड रुपैयाँको सेन्थेटिक यार्न, ४ अर्ब ३८ करोडको उनी गलैंचा कार्पेट, ३ अर्ब ३० करोडको तयारी कपडा र २ अर्ब ८८ करोडको अलैंची निर्यात भएको विभागको तथ्यांक छ। इन्धन खरिदमा भने अर्बौं रुपैयाँ बाहिरिएको छ। ७ महिनाको अवधिमा डिजेल खरिदमा ५८ अर्ब २२ करोड, पेट्रोलमा २१ अर्ब २६ करोड र खाना पकाउने एलपी ग्यासमा १७ अर्ब ७९ करोड रुपैयाँ बाहिरिएको छ। ६ महिनाको अवधिमा पेट्रोलको औसत माग १३ प्रतिशत, डिजेलको ४ र एलपी ग्यासको १८ प्रतिशत बढेको नेपाल आयल निगमले जनाएको छ। एमएस बिलेट खरिदमा २७ अर्ब २७ करोड, तयारी कपडामा २० अर्ब १५ करोड र एचआरसीटमा १६ अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!