Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको २७ मुलुकसँग व्यापार नाफा र ११२ सँग घाटा


वैदेशिक व्यापारमा नेपालले विभिन्न २७ मुलुकसँगमात्र नाफा गर्ने गरेको पाइएको छ भने ११२ मुलुकसँगको व्यापार भने घाटामा रहेको पाइएको छ। नेपालले कुल १३९ वटा मुलुकसँग व्यापार गर्ने गरेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा २७ वटा मुलुकसँग व्यापार नाफामा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भएको कारोबार अनलाइनले लेखेको छ।

काजकिस्तान, यमन, कोलोम्बिया, कंगो, माल्दिभ्स, सुडान,अफगानिस्तान, होन्डुरस, हैटीलगायतका २७ मुलुकसँग व्यापार नाफामा रहेको विभागले जनाएको छ। नाफामा रहेका मुलुकमध्ये अधिकांशसँग न्यूनमात्र व्यापार हुन्छ। विभागका अनुसार काजकिस्तानमा १४ करोड १३ लाख रुपैयाँको सामान निर्यात भएको छ भने यमनमा ९१ लाख, कोलोम्बियामा ११ लाख १९ हजार, अफगानिस्तानमा १६ लाख ८६ हजार रुपैयाँ, होन्डुरसमा १० लाख ९० हजार रुपैयाँका वस्तु निर्यात भएको छ। तर, सबैभन्दा धेरै व्यापार हुने छिमेकी मुलुक भारत र चीनसँगको व्यापारमा भने ठूलो घाटा छ। आयात तथा निर्यात दुवैमा भारत अगाडि छ। विभागको तथ्यांकले निर्यातमा सामान्य सुधार भएको देखाउँछ।

पाँच महिनाको अवधिमा निर्यात व्यापार २६.९७ प्रतिशत बढेको छ। सो अवधिमा ४७ अर्ब ६१ करोड रुपैयाँको निर्यात भएको छ। आयात व्यापार ४.२४ रुपैयाँले घटेको छ। आयात र निर्यातमा देखिएको सुधार भने प्रशोधित पाम तेलका कारण हो। मलेसिया र इन्डोनेसियाबाट कच्चा पदार्थका रूपमा आयातित पाम तेल प्रशोधन भएर निर्यात हुन्छ। पाम तेलको निर्यात बढ्दा समग्र व्यापार बढेको हो। पाँच महिनामा ११ अर्ब ५२ करोड २८ लाख ६ हजार रुपैयाँको पाम आयल निर्यात भएको छ। यसअघि चार महिनामा८ अर्ब ३६ करोड ८५ लाख ८ हजार रुपैयाँकोपाम आयल निर्यात भएको थियो। आयातित पाम तेलले बढाएको निर्यात भने दिगो नहुने विज्ञहरुको भनाई छ। पाम तेल भन्दा पनि स्थानीय उत्पादन बढाएर निर्यात बढाउनुपर्ने व्यापार विज्ञको भनाई छ। सो अवधिमा ३ अर्ब रुपैयाँ बराबरको तेल निर्यात भएको छ।

Insert your Ads code here

पाँचमहिना अवधिमा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको व्यापार भएको विभागको तथ्यांक छ। यो अवधिमा ५ खर्ब ३३ अर्ब ६४ करोडको व्यापार घाटा भएको छ। तथ्यांकअनुसार ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको आयात भएको छ। निर्यात भने ४७ अर्ब ६१ करोड रुपैयाँको मात्रै भएको छ। निर्यात बढ्दै गएकाले आयातमा सामान्य कमी आएको छ।

प्रशोधित पाम तेल भारत निर्यात हुन्छ। भारतले कृषि वस्तुमा सहुलियत दिएको छ। नेपाल सरकारले पनि निर्यात बढाउन सहुलियत दिएको छ।सबैभन्दा बढी भारतबाट ३ खर्ब ४९ अर्ब ६३ रुपैयाँको आयात भएको छ। निर्यात भने ३२ अर्ब ५६ करोड रुपैयाँको मात्रै छ। दोस्रोमा चीनबाट १ खर्ब २ अर्ब ४७ करोड रुपैयाँको आयात भएको छ। यस अवधिमा चीनमा ८६ करोड रुपैयाँको मात्रै निर्यात भएको तथ्यांकमा छ।

सबैभन्दा बढी वीरगन्ज भन्सार नाकाबाट १ खर्ब ९६ अर्ब ७० करोड रुपैयाँको आयात भएको छ। निर्यातमा पनि वीरगन्ज नाका नै अगाडि छ। यहाँबाट १४ अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। आयातमा दोस्रोमा भैरहवा र त्यसपछि विराटनगर नाका छन्। पाँच महिनाकै अवधिमा भैरहवाबाट ९७ अर्ब ८५ करोड र विराटनगरबाट ६० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ। यी दुई नाकाबाट क्रमश १ अर्ब २४ करोड र १३ अर्ब ६७ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!