नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिन बन्द गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार शुक्रबारदेखि श्रम स्वीकृति बन्द गर्ने निर्णय भएको छ। ‘आजदेखि वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति रोक्ने निर्णय भएको छ’, महानिर्देशक दाहालले भन्नुभएको नेपाल खबर अनलाइनले लेखेको छ। नेपालीहरु जाने मुख्य श्रम गन्तब्य रहेका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि नेपालले तत्कालका लागि श्रम स्वीकृतिमा रोक लगाएको हो।
यसअघि बिहीबार बसेको उच्चस्तरीय समितिले रोजगारीका लागि जाने सबै नेपालीलाई श्रम स्वीकृति रोक्नु पर्ने निर्णय गरेको थियो। यसअघि कतार, कोरिया र कुवेत जाने नेपालीको मात्रै श्रम स्वीकृति रोकिएको थियो।
नेपालीका प्रमुख श्रम गन्तव्यमा कोरोनाको संक्रमण फैलँदै गएपछि नेपालले पनि ती देशमा श्रमिक पठाउन तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो। यसअघि नै श्रम स्वीकृति पाइसकेका श्रमिक भने जान पाउने छन्।
Insert your Ads code here
पछिल्लो समय पनि दैनिक करिव एक हजार श्रम स्वीकृति जारी भइरहेको थियो। नेपालीका प्रमुख गन्तव्य, कतार, साउदी, युएई, कुवेत, बहराइन, दक्षिण कोरियालगायतका देशमा कोरोनाको संक्रमण देखिएको छ।