Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालद्वारा हवाई उडानमा नयाँ मापदण्ड: ज्वरो र खोकी लागेकालाई निषेध


नेपाल सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ। उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ।

मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ। यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ।

Insert your Ads code here

त्यस्तै यात्राको क्रममा अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने र यात्राभर आफूलाई आवश्यक मास्क आफैँ व्यवस्था गर्नुपर्नेसमेत उल्लेख गरिएको छ। त्यस्तै यात्रुले उडान जाँचदेखि लगेज लिने प्रक्रियासम्म कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा जनाइएको छ।

मापदण्डअनुसार अहिलेको समयमा उडानका क्रममा यात्रुलाई पत्रपत्रिका तथा म्यागेजिन उपलब्ध हुने छैन। आन्तरिक उडानमा खानपिनको व्यवस्थामासमेत रोक लगाइएको छ। त्यस्तै अति आवश्यकलाई मात्र विमानस्थलमा ट्रली उपयोग गर्न दिइने छ। ७० वर्ष उमेरमाथिका वृद्धवृद्धा, गभर्वती र गम्भीर स्वास्थ्य समस्या भएकालाई सकेसम्म उडान नगर्न आग्रह गरिएको छ। उडानमा जनावर लैजान नपाइने भएको छ। वायु सेवा सञ्चालकले यात्रुले प्रस्ट रूपमा देख्नसक्नेगरी गर्नुहुने तथा नहुने क्रियाकलापसहितका सूचना पम्लेट अथवा डिस्प्लेमार्फत सम्पे्रषण गर्नुपर्ने छ। यात्रुले आफ्नो लगेज सजिलै पहिचान गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने छ।

वायु सेवा सञ्चालकले उडान सञ्चालनसम्बन्धी कार्यविधि जारी गर्नुपर्ने छ र त्यस्तो कार्यविधि सम्पूर्ण कर्मचारीलाई उपलब्ध गराउनुपर्ने छ। यात्रु जाँचपासका क्रममा सामाजिक दूरी कायम गराउनेसहित स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका लागि आवश्यक व्यवस्था पनि सञ्चालकले नै गर्नुपर्ने मापदण्डमा उल्लेख छ। कोभिड १९ को सङ्क्रमण रोक्न कर्मचारीलाई त्यसको लक्षण पहिचान गर्नसक्ने गरी आवश्यक तालिम उपलब्ध गराउने काम पनि सञ्चालकले गर्नुपर्ने छ। जाँचपासको समयमा पारदर्शी सीसाको प्रयोग अनिवार्य गरिएको छ।

यात्रुलाई जहाजसम्म पु¥याउने बसलाई हरेकपटकको यात्रापछि डिस्इन्फेक्ट गर्नुपर्ने छ। जहाजका चालक दल सदस्यले मास्क, चस्मासहित आवश्यकताअनुरूप पीपीईको समेत प्रयोग गर्नुपर्ने छ। उडानपूर्व चालकदल सदस्यको पनि अनिवार्य रूपमा ज्वरो मापन गर्नुपर्नेछ। सुरक्षा जाँचमा रहने व्यक्तिले अनिवार्य पीपीई लगाउनुपर्ने र हरेकपटकको जाँचपछि उपकरण डिस्इन्फेक्ट गर्नुपर्ने छ। विमानस्थल व्यवस्थापकले हरेक समय विमानस्थललाई सफा र स्वास्थ्यको हिसाबले सुरक्षित राख्नुपर्ने छ। मापदण्डमा उल्लेखित कुनै पनि कुराको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!