Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालबाट चीनमा सामग्री निर्यात गर्नमा जोड


नेपाल–चीन सीमा तातोपानी नाकाबाट चीनमा नेपाली उत्पादन निर्यात गरिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्। चीन तर्फबाट मात्रै नेपालमा सामग्री भित्रिएकाले अब नेपालबाट पनि यहाँका उत्पादन चीन लैजानुपर्नेमा स्थानीय जनप्रतिनिधि र व्यवसायीले जोड दिएका कारोबार अनलाइनले लेखेको छ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको आयोजनामा भएको ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालमा उत्पादित सामग्री चीन पु-याउनुपर्नेमा स्थानीय व्यवसायी तत्पर भएका छन्। दुवै देशबाट आयात निर्यात गर्दा नेपाल र चीन बीचको व्यापारिक सम्बन्ध थप मजबुत हुने र अर्थतन्त्रमा सघाउ पग्ने भन्दै सामग्री निर्यातका लागि पहल थालिएको हो। जनप्रतिनिधि तथा व्यवसायीहरुले सामग्री निर्यात गर्न तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई समन्वयका लागि आग्रहसमेत गरेका छन्।

“हामीले अब यताबाट पनि सामग्री लैजानुपर्छ, नेपालमा उत्पादित सामग्री विश्व बजारमा पु-याउने हाम्रो कर्तव्य हो,” भोटेकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष एवं व्यवसायी मुके शेर्पाले भन्नुभयो, “हामीले यताबाट चाँही किन नलैजाने ? कुनै बाधा हो भने भन्सार कार्यालयले समन्वय गर्नुपर्छ।” उहाँले आफ्नो वडामा स्याउ, दाँतेओखर, किवि, कागतीलगायत कृषि उपज उत्पादन गरेकाले चीन लैजान सहमत भएको बताउनुभयो। नेपालमा उत्पादन भएका विभिन्न सामग्रीलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउनुपर्ने उहाँको भनाइ छ।

Insert your Ads code here

पहिला पहिला नेपालबाट प्रशस्त सामग्री चीनमा पुर्‍याइने गरिएको थियो। नेपालमा उत्पादन भएका बाँसबारी छाला जुत्तासहित विभिन्न कपडाहरु निर्यात हुने गरेको बाह्रविसे नगरपालिकाका प्रमुख एवं व्यवसायी निमपफुञ्जो शेर्पाले बताउनुभयो। “मखमल कपडासहित नेपालमा बनेका विभिन्न सामग्री जाने गरेको थियो,” उहाँले भन्नुभयो, “अब यहाँ उत्पादित अर्गानिक कृषि उपजसहित नेपाली उद्योगमा निर्मित सामग्री चीन पुर्‍याइनुपर्छ।’ उहाँका अनुसार उताबाट मात्रै सामग्री आयात भएकोमा अब दुई देशबीच व्यापार आदानप्रदान गर्नुपर्छ।

चिनियाँ बजारका लागि आवश्यक पर्ने विभिन्न सामग्री नेपालमा उत्पादन हुने गरेको छ। त्यसलाई अन्तर्राष्ट्रिय बजारीकरण गरिनुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताउनुभयो।”नेपालमा उत्पादन भएका सामग्री चीनमा पुर्‍याउन सके नेपाली अर्थ बजारले फड्को मार्नेछ” उहाँ भन्नुहुन्छ, “यसले नेपाली उद्योगी, व्यवसायीलाई सहयोग पु-याउँछ।”उहाँले अन्तर्राष्ट्रिय बजारीकरणका लागि नीतिमा रहेर प्रक्रियागत रुपमा दुई देशबीच समझदारी गरेर व्यापार विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

केही सामग्रीहरु नेपालबाट चीन जाने गरेको छ। चिनियाँ बजारमा नेपालबाट गएका सामग्रीहरुमा अंग्रेजी भाषामा मात्रै लेखिएका हुने हुँदा समस्या भइरहेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीको भनाइ छ। “चिनियाँ पक्ष पनि नेपालबाट किन सामग्री आउँदैन भन्नेमा छन्,” खत्री भन्नुहुन्छ, “सामग्रीको प्याकेटमा अंग्रेजीसहित चिनियाँ भाषामा उल्लेख गरेर पठाउनुपर्ने रहेछ।”

उहाँले नेपाल चीन बीचको व्यापारिक बैठकमा पनि यी सवाल उठेको जानकारी गराउनुभयो। सीमा क्षेत्रमा नेपालमा उत्पादन भएका तरकारी, फलफूलहरु केही मात्रामा जाने गरेको छ। अब यसलाई थप व्यवस्थित गरी व्यापार विस्तार गरिनुपर्ने उहाँले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!