नेपालबाट स्वास्थ्य सामग्री खरिदमा चीनले सहयोग गर्ने नेपालका लागि चिनियाँ राजदूतको भनाइ
नेपालले चीनसँग स्वास्थ्य सामग्री खरिदका लागि चैत २० गते एक व्यापारिक माग पठाएको र त्यसबारे अहिले उसको सम्बन्धित मन्त्रालयले काम गरिरहेको काठमाडौँस्थित चिनियाँ दूताबासले बताएको छ।’चैत २० गते नेपाली पक्षले बेइजिङस्थित नेपाली दूतावासमार्फत् व्यापारिक मागको प्रस्ताव पठाएको छ। चीनको वाणिज्य मन्त्रालयले अहिले त्यसमा काम गरिरहेको छ,’ नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले भन्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
त्यसैगरी चीनको केन्द्रीय सरकारले नेपाललाई आवश्यक सामग्रीहरु सहयोगस्वरुप दिने तयारी रहेको पनि उहाँले बताउनुभयो। ‘त्यसबारे दुवै पक्ष अहिले संवादमा छन्,’ राजदूत होउले संक्षिप्त अन्तर्वार्तामा भन्नुभयो। राजदूत होउका अनुसार चीनका केही प्रान्तीय सरकारहरु र नागरिक समूहहरूले पनि नेपालका लागि सबैभन्दा बढी आवश्यक स्वास्थ्य सामग्री संकलन गरिरहेका छन्।
चीनका स्थानीय सरकारहरु र एनजीओहरुले प्रदान गरेका एक खेप सामग्री चैत १६ गते काठमाडौं ल्याइएको थियो। जुन सामग्री राजदूत होउले स्वाथ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको थियो।
‘सिन्च्याङ स्वायत्त क्षेत्र, युनान प्रान्त र केही चिनियाँ संस्थाले पनि नेपाललाई स्वास्थ्य सामग्री प्रदान गर्न इच्छा व्यक्त गरेको जानकारी आएको छ,’ होउले भन्नुभयो।’यतिबेला सबैभन्दा जटिल पक्ष यातायातको हो। चिनियाँ दूतावासले सबै पक्षसँग संवाद र संयोजन गरेर भन्सार लगायतका कुरा खुलाएर यो काम सम्पन्न गर्नेछ,’ राजदूत होउले भन्नुभयो, ‘पछि नेपालमा महामारीको अवस्था र यहाँको आवश्यकतालाई हेरेर हामी भिडियो कन्फ्रेन्सलगायत मार्फत् समस्या समाधान गर्दै जानेछौं।’
नेपाल सरकारले व्यापारिक कम्पनी ओम्नी ग्रुपमार्फत चीनबाट खरिद गरेर ल्याएको स्वास्थ्य सामग्री राम्रो नभएको बहस भइरहेका बेला राजदूत होउले योग्य आपूर्तीकर्ताको सूची दिन तयार रहेको बताउनुभयो। उहाँका अनुसार यदि कुनै देशले कूटनीतिक माध्यमबाट खरिदको माग गर्यो भने दूतावासले त्यसलाई हेडक्वार्टर पठाउँछ र योग्य आपूर्तिकर्ताको सूची प्रदान गर्छ।
विवाद भएपछि सरकारले चीनबाट सामग्री ल्याउन ओम्नी कम्पनीसँग गरेको सम्झौता चैत १९ गते रद्द गरेर सरकार–सरकारबीचको प्रक्रियाबाट ल्याउने निर्णय गरेको थियो।