Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा आज संस्कृत दिवस मनाइँदै


भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तर्क्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ। श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक श्रावणी स्नान, नव यज्ञोपवीत धारण, रक्षाबन्धन गरी ऋषिमुनिले वैदिक दर्शनका उपनिषद्, आरण्यक, ब्राह्मण लगायत ग्रन्थ संस्कृत भाषामा रचना गरेको सम्झनामा त्यसै बेलादेखि संस्कृत दिवस मनाउने प्रचलन शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो।

मानसरोवरबाट बग्दै आएको सरयु नदीको दक्षिणतिर नैमिषारण्य क्षेत्र पर्ने पनि उहाँले जानकारी दिनुभयो। गोमती नदीको किनारमा वनजङ्गलको बीचमा पर्ने नैमिषारण्य क्षेत्र प्राकृतिक रुपमा पनि आकर्षक सिद्धभूमि हो। यहीँ बसेर ऋषिमुनिले छलफलका माध्यमबाट आआफूले देखेका वेदका मन्त्र सङ्कलन गरेर शाखा उपशाखा निर्माण गर्नुभएको शास्त्रीय विश्वास छ।

धर्मशास्त्र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विभिन्न आंगिक एवं सम्बन्धन प्राप्त विद्यापीठमा अध्यापन हुने गरेको छ।

Insert your Ads code here

संस्कृत दिवसका अवसरमा विगत वर्षमा संस्कृत विश्वविद्यालय र जयतु संस्कृतम् संस्थाले विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष औपचारिक कार्यक्रम नगरी ऋषिमुनिको वैदिक दर्शन एवं संस्कृत क्षेत्रमा योगदानका विषयमा सम्झना गरिने जनाइएको गोरखापत्र अनलइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!