Loading... आजः बुधबार , मंसिर १९, २०८१

नेपालमा उत्पादित मास्क, पीपीई र पन्जाको गुणस्तर मापदण्ड बनाइँदै


नेपाल गुणस्तर तथा नापतौल विभागले मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को गुणस्तर मापदण्ड निर्धारण गर्ने भएको छ। यसका लागि विभागले आइतबार गुणस्तर परिषद्मा मास्क र पीपीईको गुणस्तर मापदण्ड प्रस्तुत गर्दै छ। परिषद्बाट स्वीकृत भएपछि गुणस्तर निर्धारण हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

‘हामीले यसका अन्तिम शीर्षकहरू पनि तयार गरिसकेका छौं। आइतबार परिषद्मा राख्छौं,’ पुडासैनीले भन्नुभयो, ‘त्यहाँबाट स्वीकृत भयो भने मास्क, पीपीई, पन्जालगायतसँग सम्बद्ध २५ वटा स्ट्यान्डर्ड फाइनल गर्छौँ।’ विभागले पहिलो चरणका लागि मास्क र पीपीई दुई किसिमका र ५–६ प्रकारका पन्जाको गुणस्तर निर्धारण गर्ने महानिर्देशक पुडासैनीले बताउनुभयो। ‘अहिले मास्क, पीपीई र पन्जा गरी तीन उत्पादनको मापदण्ड निर्धारण गर्न लागेका हौं,’ उहाँले भन्नुभयो, ‘तिनीहरूको परीक्षण पद्धति भिन्न प्रकारका र भिन्न आवश्यकताका छन्। यो चरणमा यहीसँग सम्बन्धित मात्र हुन्।’

कोभिड–१९ संक्रमणको प्रकोप बढेसँगै मास्क, पीपीई, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको गुणस्तरबारे सवाल उठेका छन्। सेनिटाइजरको गुणस्तर भने औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्पादन गर्नुपर्ने व्यवस्था गरिसकेको छ। मास्क, पीपीई र पन्जाको गुणस्तर भने नापतौल विभागले निर्धारण गर्ने तयारी गरेको छ।

Insert your Ads code here

स्वदेशी उद्योगहरूले गुणस्तरअनुसारका मास्क, पीपीई र पन्जा उत्पादन गरे विभागले ‘नेपाल गुणस्तर प्रमाण चिह्न’ प्राप्त गर्नेछ। यसका लागि गुणस्तर स्वीकृतिपछि तयारी गर्ने विभागले जानकारी दिएको छ। मास्क उत्पादन गर्ने उद्योगहरूका लागि राम्रो कदम भएको उद्योगी सरोज खड्का बताउनुहुन्छ। मास्कको मेटेरियल्स भिन्न किसिमको ननओभन खालको भएकाले गुणस्तर मापदण्ड निर्धारण हुनुपर्ने उहाँले बताउनुभयो।

‘अहिले भारतले मास्कको कच्चा पदार्थ यहाँ नै पुग्दैन भनेर आयात रोकेको छ। चीनबाट ल्याउँदा मूल्य महँगो पर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले यही गुणस्तरमा नेपालमा त्यो सामान पाउँछौं भने मास्कको मेटेरियल्स र मूल्य घट्छ।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!