Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा कोभिड–१९ को असरले एक प्रतिशतले गरिबी बढ्ने नेपालका अर्थमन्त्रीको अनुमान


अर्थमन्त्री युवराज खतिवडाले कोभिड–१९ को असरले एक प्रतिशत बिन्दुले गरिबी बढ्ने अनुमान गर्नुभएको छ। कोरोनाको असर अझै अनिश्चित रहेको र हालसम्मको अवस्थाअनुसार एक प्रतिशत बिन्दुले बढ्ने उहाँको भनाइ छ।

राष्ट्रिय योजना आयोगका अनुसार कोरोनापूर्वको अवस्थामा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्।

१८.७ प्रतिशत अर्थात् कुल जनसंख्या २ करोड ९२ लाखमध्ये ५४ लाख २३ हजार व्यक्ति गरिबीमा छन्। अर्थमन्त्री खतिवडाले भनेअनुसारकै हिसाब गर्ने हो भने एक प्रतिशत बिन्दु अर्थात् २९ हजार २ सय ५४ जना गरिबीको रेखामुनि धकेलिइसकेका छन्। जसले दैनिक १.२५ अमेरिकी डलर (हालको विनिमय दरअनुसार १ सय ५२ रुपैयाँ) आर्जन गर्न र दैनिक २१ सय क्यालोरीभन्दा बढी खाना खान पाउँदैनन्।

Insert your Ads code here

अर्थशास्त्री स्वर्णिम वाग्लेले १ प्रतिशत बिन्दुभन्दा बढी गरिब बढ्न सक्ने अनुमान गर्नुभयो। मुख्य गरी रेमिट्यान्समा आउने गिरावट र आर्थिक गतिविधि ठप्प रहेकाले गरिबी बढ्ने उहाँको अनुमान हो । भूकम्प र नाकाबन्दीले करिब ५ प्रतिशत गरिब बढेको अनुमान गरिएको थियो। त्योभन्दा बढी क्षति र थप अनिश्चितताका कारण थप गरिब बढ्ने अनुमान धेरैको छ।

कृषि तथा खाद्य सुरक्षा विज्ञ यमुना घलेले कृषि क्षेत्रमा आगामी बजेटले प्राथमिकता दिए गरिबी नियन्त्रणमा सघाउ पुग्ने धारणा राख्नुभयो। कान्तिपुर अनलाइनका अनुसार रोजगारी गुमेका र आयआर्जन कम भएका समूहमा खाद्य संकटको सम्भावना रहेको उहाँको ठम्याइ छ।

सांसद तथा नेत्री बिन्दा पाण्डेले गरिबी घटाउने र रोजगारी सिर्जना गर्ने क्षेत्रमा आगामी बजेट केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। गरिखान सक्ने उमेरका मान्छेलाई म गरिखान सक्छु भन्ने स्थितिको सीप सिर्जना गर्नुपर्ने उहाँले सुझाउनुभयो।

अर्थमन्त्री खतिवडाले अहिले आर्थिक क्षेत्रलाई चलायमान बनाइएन भने उत्पादन क्षेत्र प्रभावित हुने र त्यसले चौतर्फी असर पार्ने बताउनुभयो। ‘हाम्रो कृषि क्षेत्र प्रभावित हुन्छ । कृषि प्रभावित भयो भने खाद्य सुरक्षा, खाद्य अधिकार, खाद्य सम्प्रभुतामा हामी फेरि पछि पर्छौं,’ उहाँले भन्नुभयो।

गरिबी एवं बेरोजगारी बढ्दै जाँदा अन्त्यमा मानवीय संकटमै गएर जोडिने भएकाले न्यूनतम आर्थिक गतिविधि चालु राख्नुपर्ने उहाँको धारणा छ। ‘यसकारण स्वास्थ्य संकट र आर्थिक संकटको विषयलाई हामीले सँगै लिएर जानुपर्छ भन्ने मेरो धारणा हो,’ उहाँले भन्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!