Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु


नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोकनिवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रि.वि.शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी २९ वर्षीय महिला निको भई घर फर्किएकोमा वैशाख २९ गते स्वास्थ्य अवस्था जटिल भएपछि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना भएको जानकारी दिनुभयो। उहाँका अनुसार सिन्धुपाल्चोकस्थित आफ्नो घर फर्किदा उहाँलाई ज्वरोसँगै श्वास लिन कठिनाइ देखिएको थियो। उहाँको नमूना सङ्कलन गरी परीक्षण गर्दा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। मृत्यु भएको महिलामा कोरोना सङ्क्रमित रहेको हुनसक्ने सम्भावनापछि शनिबार दिनभरि धुलिखेल अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो।

यसैबीच कोरोना परीक्षणमा थप मृतक महिलाबाहेक थप २ जनामा पुष्टि भएको छ। सङ्क्रमित दुवै धनुषानिवासी २० र ६५ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Insert your Ads code here

गोरखापत्र अनलाइनका अनुसार कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अप्नाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

शनिबार नेपाली सेनाका दुई जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ। मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना जवानमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। सङ्क्रमितमध्ये काभ्रेका २६ र महोत्तरीका ५२ वर्षीय पुरुष छन्। सङ्क्रमितहरुको यात्रा विवरणलगायतको विषयमा खोजी कार्य भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो।

गृह मन्त्रालयका अनुसार, यो हप्तामा नेपाल प्रहरीको तीन, सशस्त्र प्रहरी तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी सात जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरू मध्ये कपिलवस्तुमा चार, काठमाडौँमा दुई र बारामा एकजना छन्।

विशेष गरी विभिन्न सीमा नाका, संक्रमितक्षेत्र, संक्रमित व्यक्तिको सम्बन्धमा आवश्यक सूचना सकंलन, बन्दाबन्दी कार्यान्वयन र उपत्यका प्रवेश नाकामा खटिएका सुरक्षाकर्मीहरू बढी जोखिममा रहेका छन्। प्रहरी जवानदेखि जुनियर अधिकृतसम्म संक्रमित भएको पाइएको छ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रमसँगै बन्दाबन्दीमा पनि कडाइ गरिएको गृह प्रवक्ता केदारनाथ शर्मा बताउनुहुन्छ। केही दिनयता बन्दाबन्दीमा गरिएको खुकुलोपन भएसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

प्रवक्ता शर्माले शनिबारबाट पास भएका सवारी साधनहरू सञ्चालन पनि बन्द गरिएको बताउनुभयो। जेठ १ गतेबाट एक जिल्लाबाट अर्को जिल्लामा र जेठ ३ गतेबाट पास भएका सवारी साधन सञ्चालन रोक लगाइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!