नेपालमा कोरोना भाइरसविरुद्धको स्वास्थ्य सेवा र चेतना कार्यक्रम व्यापक बनाउँदै
नेपालको अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालका ६५० चेक प्वाइन्ट रहेकोमा अहिले बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार जनशक्ति खटिएका छन् । यद्यपि खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आयात नियमित रहेको छ।
सीमा नाकामा आवागमन पूर्ण रूपमा बन्द गर्न सीमा सुरक्षाका साथै अन्य प्रयोजनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका गरी ८२ हजार ६५० सुरक्षाकर्मी परिचालन गरिएका छन्।
(सीसीएमसी) द्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरि ३९ हजार ८२४ ‘क्वारेन्टाइन’ र तीन हजार २७ ‘आइसोलेसन’ बेडको व्यवस्थापन गरिएको र १४ हजार ७३१ जना ‘क्वारेन्टाइन’ मा र ‘आइसोलेसन’ मा छन्। अहिलेसम्म नेपाल–भारत सीमा नाकामा नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ दुई हजार २० नेपाली ‘क्वारेन्टाइन’ मा रहेकोमा भारतको क्वारेन्टाइनमा रहेकामध्ये रुपन्देही सीमा नाकाबाट २९६ र कपिलवस्तु सीमा नाकाबाट ३५ गरी ३३१ जना नेपाली क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो।
गोरखापत्र अनलाइनका अनुसार सङ्क्रमणको बढी सम्भावना देखिएका क्षेत्रमा कोरोना परीक्षणको दायरा फराकिलो बनाइएको छ। स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीको छवटा संयुक्त टोलीले प्रदेश २ का २६ स्थानमा स्वाब सङ्कलन गर्ने काम गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । ६७ प्रकारका ३४२ टन औषधिजन्य स्वास्थ्य सामग्री खरिद गर्न चीनको सरकारी स्वामित्वमा रहेको चाइन सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग एक करोड ८४ लाख ७०६ अमेरिकी डलर) मूल्य बराबरको सम्झौता भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो।
चीनसँग सम्झौता अनुसारको औषधिजन्य तथा स्वास्थ्य सामग्री ढुवानी गर्न बोलपत्र आह्वान गरिएकोमा ११ वटा फर्मबाट प्रस्ताव आएको र सो प्रस्तावको मूल्याङ्कन कार्य भइरहेको छ । त्यसैगरी भारत, चीन र सिँगापुरबाट स्वअनुरूपको औषधि तथा विभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको जानकारीसमेत उहाँले दिनुभयो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भारतबाट औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै परराष्ट्र मन्त्रालय हुँदै रकम भुक्तानीको तयारी भइरहेको जानकारी दिनुभयो । भारतसँग दुई करोड ४० लाख रुपियाँ बराबरको ५३ प्रकारका औषधि खरिद गरिँदैछन् ।
नेपाल टेलिकमका २० हजार र एनसेलका ४२ हजार एक्टिभेटेड सीमबाट सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी ट्रेसिङ गर्ने क्रममा अहिलेसम्म ३४ हजार जनालाई सम्पर्क गरी विवरण सङ्कलन गरिएको जानकारी प्रवक्ता देवकोटाले दिनुभयो ।