Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा चिनियाँ लगानीको वातावरणसम्बन्धी दूतावासको अन्तर्क्रिया


चीनका लागि नेपाली दूतावासले नेपालमा लगानी गरिरहेका तथा नेपालमा कार्यरत चिनियाँ कम्पनीका प्रतिनिधिहरुसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। बिहीबार अपरान्ह बेइजिङस्थित नेपाली दूतावास प्राङ्गणमा गरिएको कार्यक्रममा नेपालमा कार्यरत पाँचवटा चिनियाँ कम्पनीले आफ्ना अनुभव प्रस्तुत गरेका छन्।

कार्यक्रमलाई स्वागत गर्दै दूतावासका उपप्रमुख मिनिष्टर सुशीलकुमार लम्सालले नेपालमा लगानी गरिरहेका र विभिन्न निर्माण कार्यमा संलग्न चिनियाँ कम्पनीहरुलाई आफ्ना अनुभव खुलस्त राख्न अनुरोध गर्नुभयो। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको भौतिक विकासमा चिनियाँ कम्पनीहरुले अहं भूमिका निर्वाह गरेको बताउँदै थप चिनियाँ कम्पनीहरुलाई नेपालमा लगानी गर्नका लागि आह्वान गर्नुभयो।

चिनियाँ कम्पनीमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तार गरिरहेको एभिक केडीएन एयरपोर्ट इन्जिनियरिङ कम्पनीका उपाध्यक्ष टीन छनले नेपालमा वैदेशिक लगानी र काम गर्दाको आफ्नो अनुभव समेटेर प्रस्तुति दिनुभयो। निर्धारित समय अगावै आफ्नो कम्पनीले काम सम्पन्न गरेको बताउँदै उहाँले यसको जस नेपाल सरकारले बनाइदिएको उपयुक्त वातावरण रहेको पनि औँल्याउनुभयो।

Insert your Ads code here

त्यसैगरी पावर चाइना इन्टरनेशनल समूहका प्रमुख वित्तीय उपअधिकृत थान स्याओफङले नेपाल जलविद्युतको अपार संभावना रहेको र चिनियाँ कम्पनीलाई नेपाली जलविद्युतमा लगानी गर्दा राम्रो फाइदा हुने बताउनुभयो। नेपालमा लामो समयदेखि जलविद्युत क्षेत्रमा काम गरिरहेको चाइना गेजुवा समूह अन्तर्राष्ट्रिय इन्जिनियरिङ कम्पनीका सहायक महाप्रवन्धक ली चियाङफङले आफ्नो कम्पनीले नेपालमा निर्माण गरिरहेको परियोजनाको विस्तृत जानकारी दिनुभयो। उहाँले अन्य चिनियाँ कम्पनीलाई समेत प्रोत्साहित हुने गरी नेपालमा काम गर्ने राम्रो वातावरण रहेको पनि जनाउनुभयो।

मन्तव्य दिने क्रममा चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसनकी एसिया प्रवर्द्धनकी महाप्रवन्धक ली चिच्यानलेइले एसियाली अन्य देशको तुलनामा नेपालमा काम गर्ने वातावरण राम्रो रहेको बताउनुभयो। त्यसैगरी नेपाल र चिनियाँ संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सका चिनियाँ अफिस व्यावसायिक विभागका उपप्रमुख आउ थाइलीले कोभिडका कारण हवाइ सेवाले क्षति बेहोर्नु परे पनि स्थिति पुनर्सामान्य हुने र पूर्ववत रुपमा व्यवसाय संचालन हुने बताउनुभयो।

चिनियाँ कम्पनीका प्रतिनिधिहरुले आफ्ना प्रस्तुति दिएपछि छलफल र प्रश्नोत्तर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा लगभग ४० जना सहभागी थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!