नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिको परीक्षण प्रक्रिया शुरु
औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गर्नु भएको थियो। छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिनुभयो। ‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ,’ उहाँले भन्नुभयो। डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उहाँको भनाइ छ।
आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उहाँले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पार्नुभएको छ।
सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमणपछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उहाँको भनाइ छ।
आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उहाँको भनाइ छ। डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताउनुभयो।
द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उहाँको भनाइ छ। वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ।
पहिलोपटक समाचार प्रकाशन तथा प्रशारण गरेपछि डाक्टर दासको अनुसन्धान सार्वजनिक भएको थियो। समाचारपछि नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो। वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गर्नु भएका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउनुहुन्छ। बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराउनु भएको थियो।
यसैबीच, डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ। भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिनुभयो। उहाँका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ।
डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिनुभयो।
गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ। ‘डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ,’ उहाँले भन्नुभयो।
तपाइँकाे प्रतिक्रिया
