नेपालमा बाढी, पहिरो र डुबानबारे पूर्वसूचना सेवा सुरु
नेपालमा बाढी, पहिरो तथा डुबान लगायतका विपत्तीबाट जनधनको क्षति कम गर्न बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु भएको छ। यस वर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला वर्षा सुरु भएको छ। वर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको उच्च जोखिम पनि बढ्दै गएको गोरखापत्र अनलाइनले लेखेको छ।
त्यस्ता खालका जोखिमबाट आम नागरिकको जीवन रक्षाका लागि असार १ गतेबाट बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी प्रवक्ता डा.अर्चना श्रेष्ठका अनुसार असार १ गतेदेखि २४ घण्टे पूर्वसूचना सेवाको विस्तार गरिएको हो।
यसअघि मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी पूर्व ससूचना मात्र दिने गरेको थियो। हाल विस्तार बाढी पूर्व सूचना मनसुन अवधिभर लागु हुने श्रेष्ठले जानकारी दिनुभयो। जस अनुसार हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको आगामी तीन दिनको बाढी प्रक्षेपण बुलेटिन विभागको http://www.hydrology.gov.np मार्फत जारी गरिनेछ।
त्यस्तै, मौसमका कारण उत्सर्जित बाढीसम्बन्धी पूर्वसूचना भने केही घण्टा अगाडि संवेदनशीलताका आधारमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय, विपद व्यवस्थापनमा संलग्न केन्द्रीय तथा स्थानीय निकाय र सरोकारवालाहरूलाई मोबाइल एसएमएसमार्फत सूचित गरिने विभागले बताएको छ।
नेपाल फ्लुड एलर्ट नामको ट्विटर र फेसबुक सामाजिक सञ्जालमार्फत पनि आवश्यकता अनुसार बाढी पूर्वसूूचना तथा बाढीजन्य अन्य सूचना सम्प्रेषण गरिने तय भएको छ। विशेष भौगोलिक क्षेत्रको बाढीसम्बन्धी सतर्कताका लागि जानकारी प्राप्त गर्न सर्वसाधारणको लागि टोल फ्रि नम्बर ११५५ सञ्चालनमा ल्याइएको छ।
यीबाहेक मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाको फोन नम्बर तथा तिनका वेबसाइटलाई पनि सक्रिय तुल्याइएको छ।
मनसुन सक्रिय भएसँगै बबरमहल स्थित बाढी पूर्वानुमान महाशाखाको पूर्वतयारीको चटारो बढेको छ। त्यहाँ २४ घण्टा सेवा दिनेगरी कर्मचारीको व्यवस्थापन गरिएको छ।
बाढी पूर्वसूचना पठाउने एसएमएस प्रणालीलाई विस्तार गर्ने कार्य धमाधम चलिरहेको जलविज्ञ सुनिल पोखरेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नदी तटीय साना साना क्षेत्रमा मात्र पठाउँदा पोहोर त्यति प्रभावकारी नभएजस्तो लाग्यो त्यसैले विस्तार गर्न धेरै मानिसलार्य सूचना दिने तयारी गरिएको हो।”
देशभरमा करिब ८० वटा तटीय क्षेत्रमा बाढीको अवस्थाको जानकारी दिने स्टेसन छन्। तर कतिपय स्टेसन बिग्रेका कारण बनाउने कामको चटारो पनि बढेको छ। कोरोना सङ्क्रमण देशभर व्यापक भइरहँदा कर्मचारीलाई विकटका स्थानका स्टेसन मर्मत गर्न अप्ठेरो परको पोखरेल सुनाउनुहुन्छ।
कतिपय स्थानमा जानकै लागि पनि एकतर्फी पास पाएकाले पनि अप्ठेरो परेको छ। त्यसै गरी, सहरी क्षेत्रमा बाढी पूर्वसूचना प्रणालीको सञ्चार व्यवस्था रहेपनि त्यसमा सूचना दिन अप्ठेरो छ। सहरी क्षेत्रमा सानो क्षेत्रमा पनि धेरै मानिस हुने भएकाले एकैपटक दुई चार लाख जनालाई मोबाइलबाट म्यासेज पठाउन कठिन भैरहेको छ।
अन्य विकल्प प्रयोग गर्नका लागि प्रयास भइरहेको छ। काठमाडौँ उपत्यकामै पनि आकस्मिक रुपमा बाढी आएर डुबान बढिरहेको छ। यस्तोमा सूचना दिन सके डुबान बाढीको क्षति कम गर्न सकिन्छ। त्यसका लागि भक्तपुरको नगरकोट, बल्खु लगायतका क्षेत्रमा स्टेसन राख्ने तयारी भैरहेको छ। उपत्यकामा खोला मासेर सडक र बस्ती बनेकाले बाढीले कुन क्षेत्रमा कतिखेर क्षति गर्छ पूर्वानुमान गर्न कठिनाइ रहेको जलविज्ञ पोखरेलले बताउनुभयो।
डुबान र बाढीको अत्यधिक प्रकोप रहने नेपालका तराइ क्षेत्रमा बाढी पूर्वसूचना चुस्त बनाइने भएको छ। पहाड वा तराइमा जहाँ पानी परे पनि डुबानको चपेटामा त्यही क्षेत्र पर्ने गर्छ। तर सञ्चार बलियो भएमा पहाडी भेगमा भन्दा तराइमा जनधनको क्षति कम गर्न समय पर्याप्त हुन्छ। जसका आधारमा मोबाइल म्यासेज सञ्चार, पानीको सतह मापन र स्टेसनलाई सक्रिय बनाउन विभाग र महाशाखा दुवैले पहल गरिरहेको छ। तर यसपाला कोरोनाको कहरका कारण बन्दाबन्दीको प्रभावले भनेजति सुधार गर्न नसकिएको महाशाखाले जनाएको छ। अब वर्षामात्र हैन बाढीमान अनुगमन गर्न पनि छुट्टै स्टेसन आवश्यक भइसकेको पोखरेलले बताउनुभयो। पोहोर साल बाग्मतीमा ठूलो बाढी आउँदा मोबाइल म्यासेजकै कारण एउटा गाउँका बासिन्दाको ज्यान जोगिएको घटनालाई दुष्टिगत गर्दै त्यही खालको प्रणाली बाग्मती, कमलालगायत नदी तटीय क्षेत्रमा कसरी सक्रिय बनाउने भन्ने योजना बनिरहेको छ।
त्यहाँको नदी तटीय क्षेत्र तल्लो सतहमा रहने भएकाले स्टेसन पनि डुबाउने हुँदा समस्या आउने गरेको छ। मापदण्ड अनुसार नदी सतहबाट एकमिटर माथि स्टेसन राख्ने प्रवाधान छ। तराइमा त्यो मापदण्डभन्दा माथि गएर अग्लो स्थानमा स्टेसन राख्ने तयारी पनि भइरहेको छ।
तपाइँकाे प्रतिक्रिया
