नेपालमा मुख्य सिजनमै र्याफ्टिङ बुकिङ सबै रद्द
साहसिक खेल जलयात्रा (र्याफ्टिङ) यतिबेला शून्य छ। सेप्टेम्बरदेख नोभेम्बर तीन महिना मात्रै सिजन हुन्छ। सिजन सुरुआतसँगै शून्यताले व्यवसायी उदेक बनेका छन्। पछिल्लो समय नेपाली पनि र्याफ्टिङप्रति आकर्षित हुँदै थिए। भूकम्पपछि नेपालीले नै र्याफ्टिङ धानिएको अवस्था थियो। कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ नै नेपाल बन्ने सम्भावना देखिँदै गएको छ। यसले गर्दा पनि उर्लंदो भेलमा उछाल लगाउने र्याफ्टिङ शून्यमा झरेको नागरिक अनलाइनले लेखेको छ।
यो वर्ष (सन् २०२०) मा भएको बुकिङ अर्को वर्षलाई सारिसकेका छन्। विदेशमा कोरोना संक्रमण दर घट्दै गए पनि नेपालमा भने बढ्दो छ। ‘आन्तरिक तथा बाह्य पर्यटक आउँदा डराउनुपर्ने अवस्था छ,’ पोखरा लेकसाइडस्थित र्यापिड रनर र्याफ्टिङ एक्सपिडिसनका निर्देशक विरेन लामाले भन्नुभयो, ‘डर मान्दामान्दै यो सिजन सुनसानमै बित्ने भयो। अर्को वर्ष के हुन्छ थाहा छैन।’ उहाँका अनुसार १४ जनाको विदेशी ग्रुप थियो। त्यो ग्रुपले रद्द गर्यो। समूह नै रद्द भएपछि क्याम्पिङका सामान सुकाउँदै बस्नुपरेको यथार्थ उहाँले सुनाउनुभयो। ‘लामो समय थन्क्याउँदा क्याम्पिङको सामान सुकाएर बसिएको छ,’ उहाँले भन्नुभयो। भदौमा नदीमा भेल आउँछ। त्यही उर्लिंदो भेलमा र्याफ्टिङको मज्जा लिन विदेशी पर्यटक आउने गर्छन्। विशेषगरी युरोप, अमेरिका र क्यानडाका पर्यटक बढी आउने गरेको उहाँको भनाइ छ। ‘सेप्टेम्बरमा चिनियाँ र भारतीय पर्यटक आउथे,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाली पनि आकर्षित हुँदै आएका छन्। नेपाली विकेन्ड मनाउने क्रममा र्याफ्टिङ गर्थे।’ उहाँले नेपाली, भारतीय र चिनियाँ पर्यटकभन्दा पनि विदेशी ‘एडभेन्चर’ गर्न रुचाउने स्पष्ट पार्नुभयो।
गत सिजन राम्रै थियो। सिजनमा अनुमानित १० हजार जति पर्यटकले पोखरामा र्याफ्टिङ गरेका थिए। छोटो दूरीदेखि एक रात दुई र दुई रात तीन दिनको र्याफ्टिङ हुन्छ। कालीगण्डकी नदीमा दुई रात तीनको हुन्छ। उपल्लो सेतीमा सबैभन्दा छोटो दूरीको हुन्छ। मर्दीखोलाबाट सुरु हुने छोटो दुरीको र्याफ्टिङ पोखरा–१ सिम्पानीस्थित ड्यामसम्म आइपुग्छन्। जुन बढीमा तीन घन्टाको हुन्छ। एक दिनका लागि भने दमौलीस्थित मादी नदीबाट चितवनस्थित गाईघाटसम्म पुगेर टुंगिने एक्सपिडिसनका निर्देशक लामाले सुनाउनुभयो। ‘अहिले फोकस आन्तरिक पर्यटकलाई नै गरेका छौं,’ उहाँले भन्नुभयो। उहाँले पनि सातवटा बोट र्याफ्टिङका लागि प्रयोग गर्दै आउनु भएको छ।
अक्टोबर र नोभेम्बरमा र्याफ्टिङका लागि युरोपेली पर्यटक आउने गरेका थिए। ‘मेरो मात्रै यो सिजनको २०–२५ ग्रुप रद्द भयो। तत्कालै गरिखाने दिन आउँछ जस्तो लाग्दैन,’ प्याडल नेपालका निर्देशक निमबहादुर मगरले भन्नुभयो, ‘कोरोना महामारी कहिले अन्त्य हुन्छ भन्नेबाहेक अरू विकल्प छैन।’ विदेशमा कम भए पनि नेपालमा भने संक्रमित संख्या दिनानुदिन बढ्दै गएको छ। उहाँका अनुसार यो सिजन शून्यमै बित्ने भयो, अर्को सिजनको पनि भर छैन। उहाँले सिजनमा आफ्नो २६ वटा र्याफ्टिङ बोट उपयोग गर्दै आउनु भएको छ। एउटा बोटमा सामान्यतः सानोमा ६ जना र ठूलोमा १६ जनासम्म अटाउँछन्।
नेपालका तमोर, अरूण, तामाकोशी, सुनकोशी, त्रिशूली, मस्र्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, भेरी, पूर्वको बलेसी खोला, सेती र उपल्लो सेती नदीमा जलयात्रा सञ्चालनको स्वीकृति दिइएको छ।
ती नदीलाई पानीको बहावको आधारमा त्रिशूली, उपल्लो सेती, सेती, बलेसी खोला, बुढी गण्डकीलाई तीन, कर्णाली, भेरी, तमोर, काली गण्डकी, सुनकोसीलाई चार र अरूण, मस्र्याङ्दी, दूधकोसी, भोटेकोसी र तामाकोसीलाई पाँच ग्रेडिङ गरिएको छ। सगरमाथा आरोहण गर्ने पहिलो विदेशी सर एडमण्ड हिलारीले सन् १९६९ अप्रिलमा नेपालमा जलयात्राको प्रारम्भ भएको इतिहास छ। उनले सुरुमा सबैभन्दा बढी जोखिम रहेको सुनकोसी नदीमा गरेका थिए। सन् १९९१ मा पोखरामा जलयात्रा (र्याफ्टिङ)को प्रारम्भ भएको हो।