Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा लकडाउनमा पनि चिनियाँ सहयोगका परियोजनाहरु नियमित


नेपालमा कोभिड १९ ले लकडाउन चालु रहे पनि चिनियाँ सहयोगमा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएको छैन। सरकारले लकडाउन गर्नु अघिल्लो दिनबाटै विमानस्थल लकडाउन गरेर काम जारी राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभएको कान्तिपुर अनलाइनले लेखेको छ। विमानस्थलमा बाहिरबाट मान्छे आउन रोक लगाइएको छ। यहाँ नेपाली कामदार २ सय ६० जना थिए। त्यसमा १ सय ६० जना घर गए। ‘१ सय जना यहीँ काम गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘खाद्यान्न लिन मात्र बाहिर जाने गरेका छौं। नत्र सबै भित्रै बसेर काम गरीरहेका छौं।’ आयोजनामा चिनियाँ कामदार २ सय ७० जना छन्। आयोजनामा अहिले निर्माण सामग्रीको भने अभाव रहेको मुनकर्मीले बताउनुभयो। पहिला ल्याइएको सामानबाटै काम भइरहेको उहाँले जानकारी दिनुभयो। ‘प्लास्टर र लाइटको काम सकिसकेको छ,’ उहाँले भन्नुभयो, ‘केबलिङ र पार्किङको काम पनि जारी छ।’

आयोजनामा ५६ प्रतिशत काम सकिसकेको उहाँले बताउनुभयो। अहिले सिमेन्ट नभएर मुख्य सडकबाट विमानस्थल जोड्ने सडक बनाउने काम रोकिएको छ। भारतबाट सिमेन्ट ल्याउनुपर्ने भए पनि कोभिड–१९ का कारण आउन सकेको छैन। निर्मणमा प्रयोग हुने केही सामान केरुङ नाकामा आएर रोकिएको छ। नाका बन्द भएकाले आउन नसकेको हो। ‘यसबारे प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका छौं,’ मुनकर्मीले भन्नुभयो, ‘डेकोरेसन, इलेक्ट्रिक सामान र झ्यालढोका आउनुपर्ने हो, आउन सकेको छैन।’ अहिले माटो काट्ने र फिलिङ गर्ने काम पनि भइरहेको छ। कामको गति कम छ, कामदार कम छन्। सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने गरी विमानस्थल निर्माणको काम सुरु गरिएको हो। यसको अनुमानित लागत २१ अर्ब ६० करोड छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि जारी छ। २७ जना चिनियाँ कामदार फिल्डमा रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो। ‘हामीलाई समस्या भनेको ढुंगा, गिटी, बालुवा र कामदारको हो,’ उहाँले भन्नुभयो, ‘हार्डवेयर सामग्री पनि ल्याउन गाह्रो भएको छ। त्यसैले सोचे जसरी काम हुन सकेको छैन।’

Insert your Ads code here

अहिले धावनमार्गमा रनवे लाइट जडान गर्न पूर्वाधार तयार गर्ने, टर्मिनल भवनको बाँकी फिनिसिङ, मार्बल, टायल राख्ने र तारबार गर्ने काम जारी छ। ‘तर तोकिएकै समयमा काम सम्पन्न गर्न भने नसकिने भयो। लकडाउन कति लम्बिने हो भन्ने पनि थाहा छैन। अहिलेसम्म ९० प्रतिशत काम सकिसकेको छ। अब मुख्य रूपमा उपकरण जडान गर्ने काम बाँकी छ। उपकरण जडान गर्नासाथ ७ प्रतिशत प्रगति थपिन्छ।’सन् २०१५ बाट निर्माण सुरु भएको विमानस्थलको काम ३१ मार्च २०२० मा सक्ने लक्ष्य थियो। आयोजनाको अनुमानित लागत ३० अर्ब ४१ करोड छ।

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पनि जारी रहेको आयोजनाका प्रमुख कार्यकारी निर्देशक (सीईओ) विज्ञान श्रेष्ठले जानकारी दिनुभयो।

आयोजनास्थलमा रहेका कामदार र प्राविधिकबाट कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो। ‘सामान्य अवस्थाको जस्तो तीव्र गतिमा काम त भएको छैन। तर गर्न सक्ने काम जारी छ,’ उहाँले भन्नुभयो, ‘नयाँ कामदार आउन भने समस्या छ।’ आयोजनामा अहिले पेनस्टक पाइप जडानको काम भइरहेको छ। आगामी जुलाईदेखि आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!