Loading... आजः आइतबार , माघ २७, २०८१

नेपालमा विदेशी लगानी प्रतिवद्धता दुई गुणाले वृद्धि


गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी दुई गुणा बढेको छ। स्वदेशी लगानीको वृद्धि भने नगण्य छ। उद्योग विभागको तथ्यांकअनुसार विगत ३ वर्षमा ६ महिनाको अवधिमा विदेशी लगानी प्रतिबद्धता बढ्दो छ। आव ०७५/७६ मा ८ अर्ब १३ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भएकोमा यस वर्षको ६ महिनामा २३ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ प्रतिबद्धता आएको कान्तिपुर अनलाइनले लेखेको छ।

आव ०७४/७५ मा १० अर्ब ८६ करोड ३४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। चालू आवमा आएको प्रतिबद्धता भने ०७४/०७५ को तुलनामा १३ अर्ब १२ लाख रुपैयाँ बढी हो। नेपालमा लगानी गर्न विदेशीहरू आकर्षित भएका कारण लगानी बढेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताउनुभयो। ‘नेपालमा लगानीको सम्भावना छ, विदेशी लगानीकर्ताहरूले रुचि पनि देखाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘यसको प्रक्रियालाई अझ सहजीकरण गर्न सके उद्योग दर्तामा वृद्धि हुन्छ। साथै देशमा आर्थिक गतिविधि बढाउन आवश्यक छ।’

रकमका हिसाबले विदेशी लगानी प्रतिबद्धता बढे पनि उद्योगको संख्या भने घटेको छ। ०७५/७६ मा १३० उद्योग दर्ता भएकामा यो वर्षमा १२६ मात्र विदेशी लगानीका उद्योग दर्ता भएका छन्। ०७४/७५ मा भने ११८ दर्ता भएका थिए। ‘गत वर्षको तुलनामा विदेशी लगानी वृद्धि छ। यसको कारण भने नयाँ आएको औद्योगिक व्यवसाय ऐन–०७५ अनुसार लगानीको सीमा (थ्रेसहोल्ड) बढ्नु हो,’ विभागका सूचना अधिकारी विनोदकुमार खड्काले भन्नुभयो, ‘नयाँ व्यवस्थाअनुसार ५ करोड रुपैयाँभन्दा कम लगानीको पुँजी भएको विदेशी लगानी दर्ता हुँदैन।’ यसको असर ठूला लगानीका उद्योग दर्ता भए, कम लगानीका नभएका कारण संख्या भने घटेको विभागले जानकारी दिएको छ।

Insert your Ads code here

हालसम्म विभागमा ३ खर्ब २१ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। यो प्रतिबद्धताअनुसार ४ हजार ९ सय ७३ विदेशी लगानीका उद्योग दर्ता छन्। विभागमा १० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योग दर्ता हुन्छन्। ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ। विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी ६ प्रकारका उद्योग दर्ता हुन्छन्। विभागकै तथ्यांकलाई हेर्दा समग्र (स्वदेशी र विदेशी) सहितका उद्योग दर्ताको संख्या घटेको छ भने लगानी प्रतिबद्धताको वृद्धि नगण्य छ। यसको अर्थ स्वदेशी लगानी प्रतिबद्धता धेरै बढेको छैन। चालु आवमा ७३ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ लगानी प्रतिबद्धता गर्दै १६३ उद्योग दर्ता भएका छन्।

गत वर्षको तुलनामा उद्योग दर्ता संख्याका आधारमा ७५ ले कम हो। लगानी भने १२ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बढेको छ। गत वर्ष २११ उद्योग दर्ता भएकोमा भने ६१ अर्ब ४६ करोड रुपैयाँ लगानी प्रतिबद्धता छ। विभागकै तथ्यांकअनुसार ०७४/७५ मा १८३ उद्योग दर्ता भएका छन्। १ खर्ब ४७ अर्ब ७ करोड ७० लाख रुपैयाँको उद्योगमा लगानी प्रतिबद्धता छ। हालसम्म विभागमा ८ हजार १ सय ५९ उद्योग दर्ता भएका छन् भने २० खर्ब ५४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता छ। समग्र वर्षमा हेर्ने हो भने लगानी उल्लेख्य वृद्धि हुने विभागका सूचना अधिकारी खड्का बताउनुहुन्छ।

लगानी बढे पनि उद्योग दर्तामा कमी आउनुमा सरकारले ल्याएको नयाँ कानुन र बैंकिङ कर्जामा गरेको कडाइ कारण रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ छ। ‘सरकारले जुन सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित निर्देशन ल्याइरहेको छ, त्यसले उद्योगीहरूमा त्रास फैलिएको छ, उनीहरू लगानी गर्न डराइरहेका छन्,’ उनले भने। यसलाई व्यवस्थित नगरे लगानी प्रतिबद्धतामा समस्या पर्ने उहाँले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!