नेपालमा ११६ वटा इन्टरनेट कम्पनी छन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत असोजसम्म अनुमति लिएका यी इन्टरनेट कम्पनीले प्राधिकरणबाट सञ्चालन अनुमति पाएका हुन्। यीबाहेक ग्रामीण क्षेत्रमा इमेलसहित इन्टरनेट सुविधा दिने गरी अरु तीन कम्पनीले पनि अनुमति लिएका छन्।
प्राधिरकणको तथ्यांकअनुसार मासिक विवरण बुझाउने र सक्रिय रूपमा काम गर्ने यस्ता इन्टरनेट कम्पनीको संख्या भने ३९ मात्रै छ । प्राधिरकणमा मासिक विवरण बुझाएका आधारमा तय भएको यस्तो तथ्यांकअनुसार नियमित विवरण बुझाएको यी कम्पनीको कुल ग्राहक संख्या ९ लाख ४७ हजार ८६५ छ।
प्राधिकरणले धेरैवटा इमेलसहित इन्टरनेट कम्पनीलाई अनुमति दिएको भए पनि सेवासुविधाका हिसाबले प्रतिस्पर्धामा भने सीमित कम्पनी मात्रै छन्। प्राधिकरणको तथ्यांकअनुसार बढी ग्राहक भएका र सक्रियतामा अग्रणी स्थान बनाएका कम्पनीमा वल्र्ड लिंकको ३ लाख ३४ हजार, नेपाल टेलिकमको २ लाख ३५ हजार, सुबिसुको ९१ हजार, भायनेटका ७७ हजार ग्राहक संख्या छन् । यी कम्पनी प्रतिस्र्पात्मक बजारमा खरो रूपमा उभिएका छन्। सेवा र सुविधाका हिसाबले ग्राहकले कम्पनी छनोट गर्ने र प्रधिस्र्पात्मक बजारमा उपयुक्त कम्पनी छनोट गर्ने सुविधा ग्राहकले पाएका छन्। ग्राहकलाई जति प्रतिस्पर्धा भयो उति नै लाभ हुने भएकाले पनि प्राधिरकणले आवश्यक विवरण पुर्याएका र तोकिएको मापदण्ड पुर्याएका सबै कम्पनीलाई अनुमति दिने गरेको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।