Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालले अन्तर्राष्ट्रिय उडान तत्काल नरोक्ने


विदेशी यात्रुको आवत–जावत हुने नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना संक्रमणको सन्त्रास बढेको छ। बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ। हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने होइन। नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

नेपालको सन्दर्भमा सर्वोच्च अदालतले पनि आवश्यकता परेको खण्डमा अन्तर्राष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ। यो विषयमा सरकारले निर्णय गरेपछि मात्र नियामक प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसो भए कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी प्राधिकरण अन्तर्राष्ट्रिय उडान रोक्ने बारेमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो। “राज्यले अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न ट्राभल एड्भाइजरी जारी गरिसकेको छ, यो नै काफी हुन्छ, उडान रोकिरहन पर्दैन यात्रु नपाएपछि एयरलाइन्सले उडान गर्नै सक्दैनन् फेरि अहिले डब्लूएजओ र आइकाओले पनि उडान रोक्नु भनेको छैन त्यसैले अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्था छैन”, महानिर्देशक पोखरेलले भन्नुभयो।

नेपालजस्तै अन्य मुलुकले पनि ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय उडानमा नजान भनिसकेकाले स्वभाविक रूपमा अन्तर्राष्ट्रिय उडानमा कटौती हुने उहाँको भनाइ छ।अहिले नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। हिमालय एयरलाइन्सले चीनमा हुने १५ वटा उडान कटौती गरिसकेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले भने आफ्ना सबै गन्तव्यमा नियमित उडान गरिरहेको छ।

Insert your Ads code here

हिमालयले यात्रुको माग र बजारको आवश्यकताका आधारमा चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ। विदेशबाट नेपाल उडान भर्ने एयरलाइन्सले पनि यात्रु घटेपछि उडानमा भारी कटौती गरेको विमानस्थलले जनाएको छ। अहिलेसम्म साउदी अरब, कुबेत, अस्ट्रेलिया, मंगोलिया, इजरायललगायत मुलुकले भने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिनुभयो।

तथापि पश्चिमी मुलुकले भने उडान रोकेका छैनन्। डिसेम्बर महिनाको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरमा देखापरेको कोरोना भाइरस इरान, दक्षिण, कोरिया, जापान, इटाली, अमेरिकालगायत मुलुकमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार शुक्रबारसम्म विश्वभर कोरोना सङ्क्रमित व्यक्तिको संख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ। कोरोना भाइरस सङ्क्रमणबाट ३ हजार बढीको मृत्यु भएको जनाइएको छ।

प्राधिकरणले हालै कोरोना अतिप्रभावित मुलुकमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन सरकारलाई सिफारिस गरेको थियो। ट्राभल एड्भाइजरी जारी गरिसकेको सरकारले अति प्रभावित मुलुकका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने यसअघि नै निर्णय गरिसकेको छ। अहिले मुलुकभित्र कोरोना भाइरसको सङ्क्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान अवतरण रोक्नपर्ने अवस्था नरहेको तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणले उल्लेख गरेको छ।अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आउने र जाने दुवै कक्षमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डअनुरूप विमानस्थलमा नियमित स्वास्थ्य कक्षबाहेक अहिले स्वास्थ्य मन्त्रालयले छुट्टै विमानस्थलमा ‘हेल्थ डेस्क’ सञ्चालन गरिरहेको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थको नियमित अन्तर्राष्ट्रियतर्फ यात्रुको प्रस्थान र आगमन कक्षको नियमित हेल्थ डेस्क अलावा मन्त्रालयले पनि यात्रुको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरेको छ। कम्तीमा पाँच जना चिकित्सकले तीन सिफ्टमा काम गरिरहेको विमानस्थलले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले मन्त्रालयको समन्वयमा विमानस्थलमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरी प्रभावकारी रूपमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए। विमानस्थलमा यात्रुको ज्वरो नापिन्छ। कुनै यात्रुमा कुनै पनि किसिमको सङ्क्रमणको संकेत देखिएमा तत्कालै आपत्कालीन उद्धारका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। विमानस्थलको आन्तरिक उडानमा पनि यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!