बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय गैर सरकारी संस्था युनिसेफले बाढी प्रभावित नेपालसहित दक्षिण एसियाली देशका ४० लाखभन्दा बढी बालबालिकालाई तत्काल सहयोग आवश्यक रहेको बताएको छ । खासगरी नेपाल, बंगलादेश, भारत र भुटानमा विगत केही हप्तादेखिको अविरल वर्षाको कारण आएको बाढी तथा पहिरोबाट दशौं लाख बालबालिकाका साथै उनीहरूका परिवारहरू पनि प्रभावित भएको युनिसेफले उल्लेख गरेको छ।
‘बाढी प्रभावित अनुमानित ४० लाखभन्दा बढी बालबालिकाहरूलाई तत्काल सहयोग आवश्यकता रहेको छ भने अन्य लाखौं बालबालिकाहरू जोखिममा रहेका छन्,’ दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले भन्नुभयो।
नेपाल, बंगलादेश, भारत र भुटानमा गरी ७०० भन्दा बढीले बाढीपहिरोमा ज्यान गुमाएका छन्। साथै दर्जनौं मानिसहरू हराइरहेका छन्। सडक, पुल, रेल मार्ग तथा विमानस्थलमा पुगेको क्षतिका कारण थुप्रै क्षेत्रहरू पहुँच बाहिर छन्। बालबालिकाहरूका लागि सफा पानी, रोग फैलिन नदिनको लागि आवश्यक सरसफाइ सामाग्री, खाद्यान्न र आश्रय स्थलमा खेल्ने ठाउँ अत्यावश्यक हुने युनिसेफको भनाइ छ। युनिसेफको तथ्यांकअनुसार नेपालमा असार २५ यताको भारी मनसुनी वर्षापछि आएको बाढी पहिरोले २० जिल्लाका विभिन्न स्थानहरूमा प्रभावित पारेको छ, जसको कारण बिहीबारसम्म १०० जनाभन्दा बढीले ज्यान गुमाउनुको साथै ८७ जना घाइते भएका छन्।