नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
२०७८ असोज २१
काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
घटस्थापनाको साइत बिहान ११ः४६ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिका ले जानकारी दिएकोछ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । ‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ,’ अध्यक्ष गौतमले भने ।
देवी बिसर्जन ८ः१९ बजे, टीकाको साइत १०ः०२ बजे
असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ बजेर ५६ मिनेटमा रहेको छ । यो वर्ष पश्चिम फर्केर झण्डा फेर्न शुभ हुनेछ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ ।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ । तुलजा भवानीलाई बिहान ८ बजेर ४४ मिनेटमा स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जानकारी दिएको छ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विजयादशमीका दिन बिहान ८ः१९ बजे देवी विसर्जन गरेपछि १०ः०२ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।
यो वर्ष टीका लगाउने मानिस पूर्व फर्कनु शुभ हुनेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।