Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्यात २७ प्रतिशतले वृद्धि


यस आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्यात २७ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्म कुल ४७ अर्ब ६२ करोड रुपैयाँको स्वदेशी बस्तु निर्यात भएको छ। जुन रकम गत वर्षको यसै अवधिको तुलनामा २७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो निर्यात १२.७ प्रतिशतले बढेको थियो। भारततर्फको निर्यात ४८.६ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३.२ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ। त्यस्तै जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेको छ।

Insert your Ads code here

निर्यातमा उल्लेख्य वृद्धि हुँदा आयात भने केही घटेको छ। पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेको छ।यस अवधिमा कुल ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो।

भारतबाट हुने आयात ९.५ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात २ प्रतिशतले घटेको छ। चीनबाट भएको आयात भने १५.६ प्रतिशतले बढेको छ।यस आर्थिक वर्षको पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटेको छ। यद्यपी पाँच महिनामा मुलुकको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले बढेको सेतोपाटी अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!