Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि नेपाली बजारमा पनि सुनको मूल्य एक लाखभन्दा माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको एक लाख एक हजार चार सय रुपैयाँ पुगेको हो। कोभिड–१९ का कारण संसारभरका लगानीकर्ता सुन खरिदमा आकर्षित भएपछि मूल्य बढेको हो। पछिल्लो समय सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ।

विश्व बजारमा सुनको माग उच्च हुँदा निरन्तर मूल्य बढिरहेको व्यवसायी बताउँछन्। सुनलाई सुरक्षित लगानीको क्षेत्र मानेर सबैले यसमा लगानी गरेका छन्। कोभिड–१९ को समस्या सुरु हुनुअघि गत माघ २१ गते सुनको मूल्य प्रतितोला ७६ हजार थियो। ६ महिनामा तोलामा २५ हजार चार सय रुपैयाँ बढेर एक लाख एक हजार चार सय पुगेको हो।

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार सबैले सुरक्षित देखेर लगानी गर्दा सुनको भाउ निरन्तर बढिरहेको छ। ‘सुनको भाउ अझै बढ्ने संकेत देखिएको छ,’ उहाँले भन्नुभयो। अमेरिकी केन्द्रीय बैंकले बन्डमा दिने ब्याजदर घटाएकाले पनि सुनमा लगानी बढेको शाक्यले बताउनुभयो। कोरोनाको असर निरन्तर जारी रहे सुनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ। मूल्य बढेपछि सुन खरिद ठप्प भएको छ। बरु बिक्री गर्ने बढेका छन्। शाक्यका अनुसार अझै १०–१२ हजार रुपैयाँ मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

Insert your Ads code here

एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ३३ हजार चार सय रुपैयाँ बढेको छ।

लकडाउन खुकुलो भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २५ गतेबाट नेपाली बजारमा मूल्य निर्धारण गर्न थालेको थियो। जेठ २५ गते तोलाको ८७ हजार चार सय सय रुपैयाँ रहेको मूल्य निरन्तर बढेको छ। पछिल्लो चार वर्षको मूल्य तुलना गर्दा सुनको भाउ करिब ८० प्रतिशतभन्दा धेरै बढेको छ।

सुनको मूल्य बढ्नुको प्रमुख कारण कोभिडले विश्व अर्थतन्त्रमा ल्याएको समस्या हो। विश्वभरका लगानीकर्ताले सुनलाई सम्पत्ति मानेर लगानी गर्ने गरेका छन्। उद्योगधन्दा, सेयर बजार, घरजग्गा कारोबार लगायत अन्य क्षेत्र अनिश्चित भएपछि सबैको आकर्षण सुनमा परेको छ। अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी केन्द्रित गरेका छन्।

कोभिडको समस्या तत्काल समाधान हुने लक्षण देखिएको छैन। अनिश्चितताको समय भएकाले सुनको मागमा अझै चाप पर्ने देखिन्छ। सुनको कारोबार गर्ने व्यवसायीको अनुमान पनि मूल्य निरन्तर बढ्ने नै छ।

विशेष गरी चीन र भारतको आर्थिक वृद्धि, सुन उपहार दिने प्रचलनले पनि पछिल्ला वर्षमा सुनको खपत वृद्धिसँगै मूल्य बढेको अर्थशास्त्री बताउँछन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!